काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायत परिषद्मार्फत नियमित रूपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार ८४० लाई सीपमूलक तालिम, ८०० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै १३० लाई उद्यामी बनाइसकेको छ । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार २४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ । नगरप्रमुख अशोक ब्याञ्जूले युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार तालिम लिएकालाई पनि घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध गराइने तथा नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल काभ्रेपलाञ्चोकको धुलिखेलका स्थानीय सेवाप्रदायक संस्थासँग समन्वय गर्ने कार्य भइरहेको छ । यस्तै दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्दै गएको उल्लेख गर्दै उहाँले गरिबी शून्य भएको सहर बनाउन काम गरिएको बताउनुभयो । “धुलिखेलका ठूला होटललाई रोजगारीको ३० प्रतिशत धुलिखेलवासीलाई दिन अनुरोध गर्दै त्यसो गरिए करमा १० प्रतिशत छुट दिने यसअघि गरिएको घोषणा कार्यान्वयनमा जानेछौँ”, उहाँले भन्नुभयो । सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । यसमध्ये युवालाई बेकरी, मोबाइल मर्मत तथा ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको हो । नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो ।
विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार नगर बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने अभियानमा छ । धुलिखेल रोजगार केन्द्रका अनुसार नगरको समन्वयमा वेटर तथा हाउसकिपिङ तालिम सकेका ४८ लाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको छ । केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी १६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात् उक्त सङ्ख्यामा भक्तपुरको सुमेरु र काठमाडौँको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा १६ वटा आयोजनाका लागि २४१ जना छनोट भएमध्ये महिला १८३ जना र पुरुष ५८ जना रहेका छन् । उनीहरूले विभिन्न तालिम लिइरहेको र काम गरिरहेको केन्द्रले जनाएको छ । यस्तै बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराउँदै आएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अनुरोध गर्दै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमूना केन्द्रका रुपमा लिइएकाले धुलिखेलमा आइडिएमार्फत रु ५३ लाख ६२ हजार र नेपाल सरकारमार्फत रु १३ लाख रकम पुँजीगत र चालु शीर्षकमा गरी रु ६६ लाख ६२ हजार रकम उक्त कार्यमा विनियोजन भएको हो । सडक मर्मत तथा सम्भार, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य पूर्वाधार, शिक्षा, वन तथा जलाधार क्षेत्रमा छनोट भएका योजनामा सूचीकृत बेरोजगारले श्रम गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्