सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक वृद्ध पुजारीको मृत्यु भएको छ । मंगलबार पौने ३ बजेतिर जिल्लाको बलरा नगरपालिका–५ महतो टोलमा गोडैता गाउँपालिका–२ निवासी अन्दाजी ७० वर्षीय महादेव महतो ९पुजारी० को मृत्यु भएको हो । सोही टोलमा रहेको विजय महतोको घरमा उनी पूजा गर्न गएका थिए । पूजा सम्पन्न गरी पानी पिउने क्रममा मोटर जडान गरिएको धाराबाट पानी लिँदा अचानक उनलाई करेन्ट लागेको थियो ।
घटनापछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो सवा ३ बजे मृत घोषणा गरेका थिए । शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्नाहाबाट प्रहरी पुगेका थिए । घटनास्थल अर्नाहा प्रहरी चौकीबाट अन्दाजी २ किमी पश्चिममा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्