रामेछाप, ३० जेठ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंले एमाले देशको भविष्य बोकोको पार्टी भएको बताउनुभएको छ ।
शुक्रवार उमाकुण्ड गाउँपालिका कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै चौलागाईंले एमाले देशको विकास, समृद्धि र राजनीतिक परिवर्तनको एजेण्डा बोकेर हिँडेको पार्टी भएको स्पष्ट पार्नुभयो । ‘एमाले जनताको मर्म बुझ्ने, नियमसम्मत ढङ्गबाट अघि बढ्ने र सधैँ परिवर्तनको पक्षमा उभिने पार्टी हो’, उहाँले भन्नुभयो ।
एमाले चाहे भारतले लगाएको नाकाबन्दीको बेला होस्, चाहे चुच्चे नक्सा जारी गर्ने बेलामा होस् जहिले पनि राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएको उहाँले बताउनुभयो । त्यसको नेतृत्व गर्ने नेता भएको कारण केपी ओली र एमाले माथि देशी विदेशी शक्तिले प्रहार गरिरहेका उहाँले सुनाउनुभयो । ,
चौलागाईंले एमाले परिवर्तनशील र प्रगतिशील शक्ति भएको कारण युवाको पार्टी पनि भएको बताउनुभयो । युवाहरूको सक्रिय सहभागिता र नेतृत्वबाट मात्र देश रूपान्तरण हुन सक्ने उहाँले बताउनुभयो । त्यसैले युवा पुस्तालाई राजनीतिमा आउन उहाँले आग्रह गर्नुभयो ।
बैठकमा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले इमानदार र जिम्मेवार भएर काम गरे कठिन परिस्थितिमा पनि सफलता प्राप्त हुने बताउनुभयो । आफूले गाविस अध्यक्ष हुँदा होस् वा दुई पटक गाउँपालिका प्रमुख हुँदा निष्ठा र इमानको साथ काम गरेको सुनुवारले दाबी गर्नुभयो । ‘मैले जनताबाट पाएको म्याण्डेट र पार्टीप्रतिको निष्ठाका साथ काम गर्दा विकासका थुप्रै काम गर्न सफल भएको छु’,उहाँले भन्नुभयो ।
बैठकमा नेकपा नेकपा एमाले वाग्मती प्रदेश सदस्य एवं गाउँपालिका इञ्चार्ज गङ्गादेवी कार्कीले एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभयो । यसका विरुद्ध एमाले एकजुट हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष नवराज खत्री (मिलन) को अध्यक्षतामा भएको बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी रणनीति तथा स्थानीय तहमा जनसंगठन विस्तारबारे छलफल गरिएको छ । बैठकमा पार्टीको जरा केन्द्रित अभियानको समीक्षा पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्