रामेछाप, ३१ जेठ । रामेछापको ऐतिहासिक शक्ति पीठ खाँडादेवी मन्दिरमा चढाएको भेटीलाई पारदर्शी बनाउन खाँडादेवी विकास कोषले भेटी गन्ने नयाँ तरिका अपनाएको छ ।
सो मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुले चढाएको भेटी व्यवस्थित र पारदर्शी गर्न विकास कोषले हरेक महिनाको अन्तिम दिन विकास कोषका पदाधिकारी, पुजारी तथा सुरक्षाकर्मी समेतको सहभागितामा भेटी गन्ने गरेको कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मन्दिरमा भक्तजनले चढाएको भेटी हरेक दिन मन्दिर बाहिर राखिएको भेटी बाकसमा जम्मा गर्ने गरिन्छ । त्यसरी जम्मा गरिएको रकम महिनाको अन्तिम दिन सरोकारवालाको उपस्थितिमा गनेर कोषमा दाखिला गर्ने गरिएको विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो । सो रकमबाट पुजारीको तलब, मन्दिरको सरसफाइ, पूजा सामान व्यवस्थापन, मन्दिर र मन्दिर परिसरमा पूर्वाधार निर्माण र मर्मत सम्भार, सामाजिक हितका काम लगायतका काम हुने गरेका उहाँले बताउनुभयो ।
मन्दिरमा भक्तजनहरूले चढाएको भेटी बाहेक बलि पूजाको रकम भने कोषले रसिद काटेर कोषमा जम्मा गर्ने गरेको छ । त्यस्तै मन्दिरमा सहयोग गर्न चाहनेहरूको रकम पनि विकास कोषले रसिद नै दिएर जम्मा गर्ने गरेको छ । तर मन्दिरमा चढाएको भेटी भने यसरी गनेर जम्मा गर्ने गरिएको तामाङले बताउनुभयो ।
खाँडादेवी मन्दिरमा देशका विभिन्न भागबाट मानिसहरू दैनिक दर्शन गर्न आउने गर्दछन् । काठमाडौं उपत्यका लगायतका जिल्लाबाट पञ्चबलीका लागि समेत ठुलो सङ्ख्यामा मानिसहरू आउने गर्दछन् । मन्दिरमा शनिबार दर्शनार्थीहरुको भिड नै लाग्ने गर्दछ ।
यो मन्दिरलाई ऐतिहासिक मन्दिर मानिन्छ । यसको वर्णन शिवपुराणको हिमवत खण्ड तथा देवी भागवत महापुराणमा समेत गरिएको छ । खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएका चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसैले यो निक्कै पुरानो मन्दिर मानिन्छ ।
खाँडादेवीलाई भाकल गरेपछि चिताएको कुरा पुरा हुन्छ भन्ने जनविश्वास छ । आफूले चिताएको कुरा पुरा भएपछि मानिसहरू खाँडादेवीमा पूजा र बलि लिएर आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्