अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ ।
शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको गोली हानी हत्या भएको हो ।
प्रहरीले आक्रमणकारी संदिग्ध अझै फरार रहेको बताएको छ । उनी बन्दुकधारी प्रहरीको पोशाकमा आएका थिए । आक्रमणकारीसँग एउटा टेजर (बन्दुक जस्तो उपकरण) पनि थियो । संदिग्धसँग एउटा कार पनि थियो, जुन प्रहरीले जफत गरेको छ ।
यस्तै, शनिबार नै डेमोक्रेटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई गोली हानिएको छ । दुवै घाइते छन् । दुवैको शल्यक्रिया गरिएको छ र डाक्टरहरूले उनीहरू बाँच्ने अपेक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले आक्रमणमा परेका दुई सांसदहरू एकअर्काबाट करिब १२ किलोमिटर टाढा रहेको च्याम्पलिन र ब्रुकलिन पार्कमा बसोबास गरिरहेको बताएको छ । सिनेटर हफम्यान र उनकी श्रीमती यभेट च्याम्पलिनमा बस्छन् ।
हफम्यानलाई कम्तिमा दुई पटक र यभेटलाई तीन पटक गोली लागेको थियो । यो जोडी आफ्नी छोरी होपसँग बस्छन् । यद्यपि, घटनाको समयमा उनी घरमा थिइन् कि थिइनन् भन्ने कुरा रिपोर्ट गरिएको छैन ।
मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाको बारेमा भने– दुवै सांसदमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित देखिन्छ । मेलिसा एक महान जनसेवक थिइन् । उनको स्थान कसैले लिन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्