काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । गभर्नर पद सम्हालेको एक महिनापछि पौडेलले बुधबार राष्ट्र बैंकमार्फत आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।
राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको विवरणअनुसार गभर्नर पौडेल र उहाँको परिवारसँग करिब १८ करोड रुपैँया बराबरको सम्पत्ति रहेको छ । सो सम्पत्तिमध्ये ठूलो हिस्सा उहाँकी श्रीमती प्रतिभा शर्माको नाममा छ।
विवरणअनुसार ललितपुरको सैँबुमा शर्माको नाममा ५ आना २ दाम क्षेत्रफलको जग्गा छ, जसको मूल्य १ करोड ५५ लाख रुपैयाँ रहेको उल्लेख छ । सोही जग्गामा बनेको घर विवरणमा समावेश गरिएको छ तर घरको मूल्य भने उल्लेख गरिएको छैन ।
नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठाभन्दा बढी क्षेत्रफलको जमिन छ । जसको मूल्य करिब ६० लाख रुपैँया छ । त्यस स्थानमा रहेको घरको पनि मूल्याङ्कन गरिएको छैन।
गभर्नर पौडेल र परिवारसँग कूल ४५ तोला सुन छ । सो सुन पैतृक सम्पत्तिबाट प्राप्त भएको हो । १५ लाख रुपैयाँ बराबरको हिराको गहना पौडेलले आफ्नै आम्दानीबाट किनेको जनाइएको छ ।
उहाँसँग करिब २१ लाख रुपैँया नगद रहेको उल्लेख गरिएको छ । तीमध्ये करिब १५ लाख रुपैयाँ पौडेलकै नाममा र करिब ६ लाख रुपैयाँ श्रीमती शर्माको नाममा छ।
गभर्नर पौडेसँग करिब १४ करोड रुपैँया बराबरको शेयर रहेको उल्लेख गरिएको छ । त्यो मध्ये करिब ९२ लाख रुपैँया साधारण शेयर र बाँकी प्रोमोटर शेयर हो ।
पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा सुजुकी ब्रान्डको कार रहेको विवरणमा उल्लेख छ । हाल उक्त कारको मूल्य करिब ४४ लाख रुपैयाँ अनुमान गरिएको छ।
राष्ट्र बैंकलाई बुझाइएको सम्पत्ति विवरणमा गभर्नर पौडेलसँग कुनै पनि बैँक, वित्तीय संस्था वा व्यक्तिलाई तिर्नुपर्ने ऋण नरहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्