काठमाडौं, असार १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएको छ ।
मदन जयन्तीको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले आफूसक्रिय राजीनतिमा फर्कने निर्णयमा पुगेको घोषणा गर्नुभएको हो ।
‘सार्वजनिक चासोका विषयहरुमा मैले गहन रुपमा चिन्तन मनन गरेको छु र एउटा निश्कर्षमा समेत पुगेको छु । त्यस विषयमा मैले प्रष्ट पार्नैपर्छ,’ भण्डारीले भन्नुभयो, ‘त्यसै आधारमा पार्टीमा आवद्ध भएर जीवनभर जनता र राष्ट्रको सेवा गर्ने अठोट मैले गरिसकेको थिएँ । अब एमालेमै रहेर जीवनभर पार्टीमार्फत काम गर्ने अभियानका साथ मैले पार्टी सदस्यता नविकरण गरेको छु । अब म नेकपा एमालेको परिवारको एक सदस्यको रुपमा जोडिएको छु ।’
उहाँले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने तथा देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै आकांक्षा नरहेको बताउनु भयो । ‘मेरो कुनै विशिष्ट आकांक्षा छैन । मलाई धेरै कुरा सिकाएको छ । समयको यो पदचापलाई सबैले पच्छ्याउनु पर्छ भन्ने मेरो बुझाइ छ,’ भण्डारीले भन्नुभयो ।
उहाँले राष्टपतिको भूमिकाबाट बाहिर आएपछि आफूले गरेको भेटघाटका आधारमा दायित्व अझै पूरा भएको छैन भन्ने निश्कर्षका आधारमा यस निर्णयमा पुगेको बताउनु भयो ।‘मैले गरेको भेटघाटका आधारमा दायित्व अझै पूरा भएको छैन भन्ने नै मेरो निश्कर्ष हो । यस गहन दायित्वलाई बहन गर्न सबैले अग्रसर हुनुपर्छ’, उहाँले भन्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्