जनता टाइम्स

२० असार २०८२, शुक्रबार १५:१३

यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी


काठमाडौं । यो साता सेयर बजार ४.१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ । साताका सबै कारोबार दिन बजार बढ्यो । पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ । यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो । गत साता २५९५ अंकमा थियो । पहिलो दिन आइतबार २६.५३, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंक बढेको हो । असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए ।

तर यतिबेला भने सेयर बजार बन्द हुँदा वैशाख ७ यताकै उच्च विन्दुमा छ । वैशाख ७ यता सेयर बजार २७ सयमुनि रहँदै आएको थियो । असार महिनामा तेस्रो सातासम्म प्रायः बजार घट्ने गरेको देखिन्छ । तर यो पटक भने असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको लय समातेको छ । बजार बढ्दै जाँदा कारोबार रकम पनि सामान्य बढ्दै गएको देखिन्छ । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड, मंगलबार ७ अर्ब ३ करोड, बुधबार ९ अर्ब ७४ करोड तथा बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भयो ।

सबै समूह बढ्दा थपियो उत्साह

यो साता कुनै पनि समूह घट्न सकेन । विकास बैंक र जीवन बीमा समूह ८ प्रतिशतभन्दा धेरै बढे । असारको तेस्रो साता नलाग्दै बजारले लय समाते पनि मसान्तको प्रभाव भने आगामी साता देखिन सक्नेछ । बैंकहरुको चौथो त्रैमासिक साँवा, ब्याज भुक्तानीको समय भएकाले आउने साता यसको चाप पर्न सक्नेछ । तर समग्रमा असार महिना पूँजीगत खर्च हुने समय भएकाले तरलता थप बढ्न गई यसले अन्ततः बजार वृद्धिलाई सघाउँछ ।

अर्कोतर्फ साउन र भदौ महिना बजारका लागि सबैभन्दा अनुकूल सिजनका रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । सरोकारवाला पक्षसँग सुझाव संकलन गरिरहेको छ । मौद्रिक नीति बजारअनुकूल आउन सक्ने अनुमानले पनि अहिले लगानीकर्तामा उत्साह देखिएको छ ।

धेरै कारोबार भएका कम्पनी

यो साता पनि धेरै कारोबार भएकामा हाइड्रोपावर कम्पनीहरुको वर्चस्व रह्यो । साहस ऊर्जाको सबैभन्दा धेरै १ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भयो । त्यसपछि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत्, सप्तकोशी विकास बैंक, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर, युनिभर्सल पावर क्रमशः अगाडि रहे ।

कारोबार संख्याका आधारमा पनि साहस ऊर्जा सबैभन्दा अगाडि रह्यो । त्यसपछि सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, ङादी ग्रुप, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बलेफी हाइड्रोपावर, सिन्धु विकास बैंक, बुटवल पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

आईपीओ/हकप्रद खुलेका छन् ?

यतिबेला विकास हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुलिरहेको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गते (आइतबार)सम्म आईपीओमा आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । लगत्तै आगामी मंगलबारदेखि असार २७ गतेसम्म हिमस्टार ऊर्जा कम्पनीको आईपीओ पनि सर्वसाधारणका लागि खुल्नेछ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि दरमखोला हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । असार २३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । ३ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । छ्याङ्दी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । छ्याङ्दीमा असार २७ सम्म, राप्तीमा असार २२ सम्म र तेह्रथुममा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

विश्वका ठूला बजार उकालोतिरै

विश्वका ठूला बजारले पनि उकालो गति कायमै राखेका छन् । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता ३.०४ प्रतिशत बढ्यो । विगत ६ महिनामा यो सूचक ४.९७ प्रतिशत बढिसकेको छ । त्यस्तै एस एण्ड पी ५०० सूचक यो साता २.०९ प्रतिशत बढ्यो । चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता १.४३ प्रतिशत बढ्यो । विगत छ महिनामा यो सूचक ८.२८ प्रतिशत बढिसकेको छ ।

जापानको निक्की इन्डेक्स यो साता घटे पनि समग्रमा वृद्धिदर कायमै छ । यो सूचक एक सातामा १.८२ प्रतिशत घटेको छ । विगत ६ महिनामा भने यो सूचक १.२८ प्रतिशत बढेको छ । लण्डनको एफटीएसई १०० सूचक साताभर ०.०६ प्रतिशत घट्यो । विगत ६ महिनामा यो सूचक ६.५९ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.७२ प्रतिशत घटेको छ । यद्यपि विगत ६ महिनामा यो सूचक ६.६८ प्रतिशत बढेको छ ।