जनता टाइम्स

१ मंसिर २०८२, सोमबार ०९:१७

नेपाल टेलिकमको त्रैमासिक आय र मुनाफा दुवै घटे


काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आय–व्यय र मुनाफामा गिरावट आएको जनाएको छ।

कम्पनीका अनुसार पहिलो त्रैमासिकमा टेलिकमले कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ कमाएको छ। यो रकम गत वर्ष इसी अवधिमा भएको ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँभन्दा ६ लाख ७१ हजार रुपैयाँ (०.०१ प्रतिशत) कम हो।

कुल आयमा पनि ठूलो गिरावट

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आय १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ रहेको थियो।
यस आधारमा कम्पनीको कुल आय ५९ करोड २६ लाख ८५ हजार रुपैयाँले घटेको हो।

खर्चमा कमी

ब्याज, कर, मूल्यह्रासलगायतका खर्च ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी भएको टेलिकमले जनाएको छ।

कर अघिको मुनाफा घट्यो

कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ।
यो मुनाफा गत वर्षको सोही अवधिमा रहेको ३ अर्ब ५५ करोड ३६ लाख ९४ हजार रुपैयाँभन्दा ६७ करोड १५ लाख ७८ हजार रुपैयाँले कम हो।

नेपाल टेलिकमले आय–व्ययमा आएको यो परिवर्तनका कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।