जनता टाइम्स

५ मंसिर २०८३, शनिबार २०:४१

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, हसिना समर्थकका ५० घरमा आगजनी, चार जनाको मृत्यु


ढाका, मङ्सिर ५ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी र तोडफोडका घटना बढेपछि सरकारले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । राजनीतिक हिंसा नियन्त्रण गर्न शनिबार थप ९० प्लाटुन सीमा सुरक्षा बल (बीजीबी) परिचालन गरिएको छ ।

सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार देशका विभिन्न क्षेत्रमा अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको हो ।

शुक्रबार दक्षिणपश्चिमी जिल्ला नराइलमा हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको थियो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यकर्ताको हत्यापछि आक्रोशित समर्थकले उक्त घटना गराएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी अधिकारी शेख तसनिम अलीका अनुसार आक्रोशित समूहले कैयौँ घरमा तोडफोड र आगजनी गरेका छन् । एक स्थानीय बासिन्दाका अनुसार जिल्लामा करिब ५० घरमा क्षति पुगेको छ ।

हिंसाका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् । महिला तथा बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ । सडकमा काठका मुढा राखेर बाटो अवरुद्ध गरिएकाले दमकल टोलीसमेत घटनास्थल पुग्न कठिन भएको अधिकारीहरूले बताएका छन् ।

नोभेम्बर महिनामा बंगलादेशमा राजनीतिक हिंसाका घटना तीव्र बनेका छन् । प्रहरी चौकीमा आगजनी, बैंकमा आक्रमण तथा राजनीतिक प्रतिद्वन्द्वीका घरमा तोडफोड र आगजनी भएका छन् ।

सन् २०२४ को विद्रोहका क्रममा भएको दमनमा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको हो ।

नोभेम्बर १४ यता भएका राजनीतिक हिंसामा कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा तीन जना राजनीतिक दलका कार्यकर्ता र एक जना बस मजदुर रहेका छन् । बसमा आगजनी हुँदा मजदुरको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, राष्ट्रिय प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर तथा अवामी लिगको परम्परागत प्रभाव क्षेत्र गोपालगन्जमा सुरक्षा व्यवस्था पुनर्स्थापित गरिएको दाबी गर्नुभएको छ । उहाँले तोडफोड र अराजकताविरुद्ध उभिन स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ ।

जीवन निर्वाहयोग्य ज्यालाको माग गर्दै गार्मेन्ट क्षेत्रका मजदुरले प्रदर्शन गरिरहेका औद्योगिक क्षेत्रमा पनि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।