काठमाडौं, मंसिर ८ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।
मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा ‘बायोमेडिकल सर्भिस’ शुल्कका नाममा म्याक्रोटेक प्रालिले रकम असुलेको आरोप छ । मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानबाट खुलेको जनाइएको छ । ती निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका थिए । स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकल तोकिएका थिए ।
यस प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी पहिलो चरणमा पक्राउ परेका थिए ।
मंसिर २ गते पूर्वमन्त्रीसहित थप ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङ छन् ।
आरोपीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
२०७५ सालको अन्त्यतिरदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरेको आरोप छ । त्यतिबेलाको विनिमय दरअनुसार एक जना कामदारबाट करिब ३ हजार १६० रुपैयाँ असुल गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्