जनता टाइम्स

१० मंसिर २०८३, बिहिबार ०७:२३

प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ? 


काठमाडौं, मंसिर १० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको हवाईमार्ग र भौगोलिक अखण्डतासम्बन्धी विषयमा के सहमति भयो भन्दै प्रश्न उठाउनुभएको छ । उहाँले लिपुलेक–लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको भारत भ्रमण र त्यसक्रममा भएका भनिएका सहमतिमाथि प्रश्न गर्नुभएको छ ।

उहाँले नेपालको आकाश अर्थात् भूगोलमाथिको हवाईमार्ग बेचेर आएको टिप्पणी गर्दै त्यसको बदलामा के प्राप्त भयो भन्ने प्रश्न गर्नुभएको छ । ‘हाम्रो आकाश अर्थात् हाम्रो भूगोलमाथिको हवाईमार्ग बेचेर आएछ ! शिशिर खनालले भन्दै थिए ! समर्थकहरूले त ताली बजाउने होला होइन ! बिचराहरू… त्यत्तिकैका लागि विदेशीले पैसा पेलेको थियो ! आज लिम्पियाधुराको कुरा किन उठाएनन् प्रमले भारतमा ?’ उहाँले लेख्नुभएको छ ।

अर्को फेसबुक स्टाटसमा उहाँले दुई खर्ब रुपैयाँ ऋणभन्दा नेपालको भूभागको सवाल ठूलो भएको उल्लेख गर्नुभएको छ । लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ । ‘२ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ? खोइ कुरा उठाएको ? कुन नदीको मोल हो त्यो ?’ उहाँले लेख्नुभएको छ ।

साम्पाङले नेपालको हवाईमार्ग प्रयोगसम्बन्धी विषयलाई समेत जोड्दै त्यसमा कुनै सौदाबाजी भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभएको छ । ‘आकाश हवाई मार्ग बेच्यौ भन्ने आएको छ ! त्यसै त भारतले किन दिन्थ्यो ! उसकै देशमा भीख मागिखाने लाखौँ करोडौँ छन् आजकै मितिमा ! सौदा नगरी के दिन्थ्यो ? केको सौदा भयो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आर्थिक सहयोग, ऋण तथा हवाईमार्ग प्रयोगसम्बन्धी विषयहरू चर्चामा रहेका बेला साम्पाङले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

विशेषगरी लिपुलेक र लिम्पियाधुरासम्बन्धी नेपालको दाबीलाई भारतसँगको उच्चस्तरीय भेटवार्तामा उठाउनुपर्ने उहाँको जोड देखिन्छ । उहाँका यी टिप्पणीले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, दुई देशबीच भएका सहमति र नेपालको राष्ट्रिय हितको सवालमा थप सार्वजनिक जवाफदेहिताको माग गरेको छ ।