कावासोती, मंसिर १० । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको छ।
दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये अश्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ भने रविन चौधरी, रिजन चौधरी र सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ। अन्य आठ जनाको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। गम्भीर घाइते अश्विन चौधरी र निर्मल चौधरीलाई पनि सोही अस्पताल रिफर गरिएको छ।
सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। त्यसैगरी प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि डिस्चार्ज गरिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्