काठमाडौँ, मङ्सिर १० । खोला किनारका बस्तीबाट विस्थापित भएका सुकुमवासीले सात महिना बितिसक्दा पनि स्थायी आवास पाउन सकेका छैनन्। थापाथली, मनोहरा र सिनामंगललगायत क्षेत्रबाट हटाइएका उनीहरू अझै विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य छन्। त्यसमाथि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारलाई शुक्रबारसम्म ठाउँ खाली गर्न प्रशासनले निर्देशन दिएको छ।
गत वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका खोला किनारका बस्तीमा डोजर चलाएको थियो। त्यसपछि १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको विस्थापितहरूको भनाइ छ। तर सात महिना बित्दा पनि उनीहरूले न लालपुर्जा पाएका छन्, न स्थायी बसोबासको व्यवस्था।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुरुमा २ हजार ६०८ घरधुरीका ११ हजार १०५ जनाले सुकुमवासीका रूपमा नाम टिपाएका थिए। डिजिटल लगत सङ्कलन गर्दा भने २ हजार ८२ परिवारको विवरण मात्रै सङ्कलन भएको थियो। अहिले ३८८ घरधुरीका १ हजार ४८८ जना समितिको सम्पर्कमा छन्।
तीमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ गरी ९६ परिवार होल्डिङ सेन्टरमा बसिरहेका छन्। त्यहाँ अधिकांश वृद्धवृद्धा, अशक्त, दीर्घरोगी र अपांगता भएका व्यक्ति छन्।
होल्डिङ सेन्टरमा बस्नेहरूले खानपान, स्वास्थ्य उपचार र सरसफाइको अवस्था दयनीय रहेको गुनासो गरेका छन्। बिरामीका लागि आवश्यक पोषणयुक्त खाना उपलब्ध नभएको र नियमित औषधि तथा उपचारमा समेत समस्या भइरहेको उनीहरूको भनाइ छ।
इचंगुनारायणमा बस्दै आएका ६१ वर्षीय प्रतापबहादुर लामा मिर्गौलाका बिरामी हुन्। उहाँले सातामा दुई पटक डायलासिस गर्नुपर्ने भए पनि नियमित उपचार पाउन नसकेको परिवारको गुनासो छ। ह्विलचेयरको सहायताबिना हिँड्न नसक्ने उहाँलाई अस्पताल लैजान प्रत्येक पटक ३ हजार ५०० रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ।
त्यस्तै, मनोहराबाट विस्थापित कमला योञ्जनले हातमा राखिएको स्टिल निकाल्न तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि गाडी भाडासमेत नहुँदा उपचार गराउन नसकेको बताउनुभएको छ। अन्य विस्थापितले पनि बास, गाँस र उपचारको समस्या झेलिरहेको बताएका छन्।
बोडेस्थित होल्डिङ सेन्टरमा थापाथलीबाट ल्याइएका १९ परिवारका ५९ जना बसिरहेका छन्। तीमध्ये १७ जना बालबालिका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना टाँस्दै उनीहरूलाई शुक्रबार मङ्सिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको हो।
प्रशासनको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणका आधारमा केही परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको उल्लेख छ। तर विस्थापितहरूले आफूहरूको अन्यत्र जाने व्यवस्था नभएको भन्दै सेन्टर छाड्न नसक्ने बताएका छन्।
यसअघि गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आफैँ वैकल्पिक बसोबासको व्यवस्था गर्न चाहने विस्थापित परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ पुनःस्थापना खर्च र मासिक १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने भनिएको थियो। तर धेरै परिवारले अहिलेसम्म उक्त रकमसमेत नपाएको गुनासो गरेका छन्।
वृद्ध, अशक्त, असहाय र आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई होल्डिङ सेन्टरमा राख्ने तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने निर्णय पनि भएको थियो। तर विस्थापित परिवारले ती सुविधा व्यवहारमा नपाएको बताएका छन्।
उनीहरूको व्यवस्थापनको जिम्मेवारीबारे सरकारी निकायबीच पनि स्पष्टता देखिएको छैन। बागमती सभ्यता एकीकृत विकास समितिले बाँकी काम महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी भएको बताएको छ। महिला मन्त्रालयले भने ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि आवश्यक सामग्री व्यवस्थापन आफ्नो जिम्मेवारी भए पनि सुकुमवासी व्यवस्थापन भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार भएको जनाएको छ।
भूमि व्यवस्था मन्त्रालयले समन्वयकारी भूमिका मात्रै निर्वाह गरिरहेको बताएको छ। मन्त्रालयका अनुसार वास्तविक सुकुमवासी पहिचान गर्ने, जग्गा खोज्ने र वितरण गर्ने जिम्मेवारी भूमि समस्या समाधान समितिको हो। समितिले भने विवरण स्थानीय तहमा पठाइएको र पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले वास्तविक सुकुमवासीको आवास तथा अन्य अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ। उहाँले अनधिकृत बसोबास हटाउने सरकारको अधिकार भए पनि विस्थापितका लागि सुरक्षित वैकल्पिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ।
सात महिनादेखि अस्थायी आश्रयमा बसिरहेका विस्थापित परिवारको स्थायी व्यवस्थापन अझै टुङ्गिएको छैन। उनीहरूका लागि आवास, स्वास्थ्य उपचार, पोषण र बालबालिकाको शिक्षाको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न अनुत्तरित छ।













प्रतिक्रिया दिनुहोस्