जनता टाइम्स

२० माघ २०७७, मंगलवार ११:३६

गेजा शर्मा वाग्लेको आफैँलाई गिज्याउने लेखोट


ओलीलाई राम्ररी पहिचान गर्न आफूलाई आग्रहरहित भएर हेर्न सक्नुपर्छ । मनमनमा आग्रह र दुराग्रह पालेर सत्य र सही कुरा जान्न र पहिचान गर्न सकिँदैन । कतिपय माक्र्सवादी, लेनिनवादी, मालेमावादी वा आफूलाई अब्बल प्रगतिवादी वा प्रगतिशील विचार र सर्जक नेता र लेखकहरु त यस सबालमा कमजोर देखिन्छन भने कम्युनिष्ट शब्दसितै घृणा गर्नेहरु ओलीलाई नै मन पराउँदैनन भने उहाँका सही विचारलाई समर्थन गर्छन भन्ने अहिले नै आश छैन तर अहिले ओलीको आलोचना गरे पनि परिणाममा वाग्ले ओलीको समर्थनमा अवश्य आउनेछन

प्रा.डा. बद्रीविशाल पोखरेल

यही माघ १९ गते प्रधानमन्त्रीविरुद्ध तारन्तार अनर्गल प्रचार गरिरहेको एक छापा पत्रिकामा गेजा शर्मा वाग्लेको दक्षिणपन्थी धारका नयाँ नायक नाम दिएर केपी ओलीविरुद्ध एक लेखोट प्रकाशित भएको छ । यही अङ्कको सम्पादकीय र मुखपृष्ठमा समेत सरकारले १४२ वटा तुइनमध्ये १२५ वटा तुइन विस्थापित भएको कहिल्यै किञ्चित उल्लेख गर्न मन नगर्ने पत्रिकामा व्यास नगरपालिकाबाट महाकाली पारी जाने तुइन प्राविधिक कारणले विस्थापित हुन नसकेको समाचारलाई भँगेरे अक्षरमा प्रकाशित गरेको पाइयो । नारायणहिटी दरवार अगाडि माघ २३ गते गर्ने भनिएको आमसभालाई लिएर यही पत्रिका ओलीविरुद्ध अनर्गल प्रचार गर्न कन्दनी कसेर लागेको देख्दा यस पत्रिकालाई स्थिरता र समृद्धीबिरोधी गाली पत्रिका भन्न सकिन्छ ।

यसरी पत्रकारिताको सामान्य धर्मविपरीत शीर्ष पृष्ठदेखि अन्तिम पृष्ठसम्म प्रधानमन्त्रीविरुद्ध निर्वस्त्र रुपमा लगातार फेक र पेड समाचार तथा लेखोट प्रवाह गरेको देख्दा दया लागेर आउँछ । यही सिलसिला अन्तर्गत नभन्दै गेजा शर्मा वाग्लेले आफ्नो लेखमा ओलीविरुद्ध नानाथरी सरासर झुठ तथा फरेबी नकारहरु खकारेको देख्दा कुनै अचम्म लागेन । कुनै मानिससँग तर्क, तथ्य, सत्य, विचार र सिद्धान्त समाप्त हुन्छ । अनी ऊ गाली गलौजमा उत्रन्छ । गाली नै गर्न धेरै ठूलो लेखक हुनु पर्दैन । एक डेढ सय गाली शब्द कण्ठ हुँदा लेख लेख्न कुनै भारी हुँदैन । हुन पनि वाग्लेले लेखमा ओलीलाई घोर दक्षिणपन्थी, अधिनायकवादी, पुनरुत्थानवाद पक्षधर, पूर्वराजा भन्दा पनि दमनकारी शाषक, अनुदारवादी, उग्रराष्ट्रवादी, हिन्दूवादी, गैरलोकतान्त्रिक प्रतिगामी, संघीयताविरोधी जस्ता अनेक आरोप र फतुर लगाएका छन् । नजर फरक परेपछि साझो पनि बाङगो देखिन्छ । वाग्ले एकातिर स्वाँगे पारामा माक्र्सवादको कखरा पनि उच्चारण गर्छन र अर्कातिर ओलीका कारण कुलगुरु माक्र्स, लेनिन र माओसमेत लज्जित भएको बताउँछन ।

वाग्लेले विशेषतः धार्मिक विषय उछालेका छन । उनले धर्म निरपेक्षको संविधानले नेपाली मौलिक व्याख्या गरेको कुरा बिर्सिए कि भन्ने लाग्यो । राज्यले नेपालका सबै धर्म संस्कृतिलाई समान दृष्टिले हेर्नुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राज्यले कुनै धर्म र संस्कृतिलाई काखापाखा गर्न मिल्दैन । यसो गर्दा कुनै पनि मठमन्दिर र धार्मिक कार्यमा आमन्त्रण गर्दा जानै पर्ने यथार्थ सत्य हो । त्यस्ता कार्यमा सहभागी हुँदा अनेक प्रतिक्रिया हुन्छन तर नकारात्मक प्रतिक्रिया मात्र प्रवाह गरेर विवाद उठाउने, अल्झाउने र बल्झाउने गरेर धार्मिक सांस्कृतिक वैमनस्य बढाउने नियतले काम गर्ने पत्रकार र लेखकहरु मनग्गे छन । यो कुरा सचेत नेपाली जनताले बुझेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले राम र अयोध्या, कहिले नेपाल नै वैदिक सनातन धर्म संस्कृतिको मूल केन्द्र हो भनेका कुरा, मन्त्रको महामन्त्र गायत्री मन्त्र सुनसरी र उदयपुरको सीमामा वग्ने सप्तकोसी नदी तटमा सिर्जना भएको कुरा आदि चर्चामा रहे भने हालै पशुपति मन्दिरमा उहाँले गरेको संकल्प पूजा अझ चर्चाको शिखरमा रहेको पाइन्छ । विशेष गरेर अतिवादी र अहंवादी सोचका नकारमात्र प्रवाह गर्न आतुर केही बुद्धिजीवी, फेक र पेड मिडियाहरुका कारण ओलीको सांस्कृतिक सिर्जनात्मक चेत र चिन्तनप्रति आक्रामक रहेको देखिन्छ । तर तिनीहरु धर्म, देवी द्यौता र यस खालका संस्कारभित्र विद्यमान मानव सभ्यता र संस्कृतिको ऐतिहासिक जीवनोपयोगी कतिपय पक्षहरुबारे अनभिज्ञ देखिन्छन ।

शरीर र वस्त्रमा लागेको मैलो त साबुनले धोएर जान्छ तर मनमा बसौँदेखि कटकटिएर दर्सन ढुङ्गा सरह जब्बर बनेर जमेर बसेको मयल सफा गर्न हरदम र हरघडी अग्रगामी कला, साहित्य, शिक्षा, दर्शन, विचार, वाद विषयका बौद्धिक विषयमा लेखन, पठन, सिर्जन, श्रवण, मनन गर्नुपर्छ, तव मात्र मनको मयल विस्तारै घटाउन सकिन्छ र पूरै हटाउन त एक पुस्ता मात्र होइन अर्को पुस्ता पनि लाग्नसक्छ । त्यसैले वाग्लेले ओलीलाई राम्ररी पहिचान गर्न आफूलाई आग्रहरहित भएर हेर्न सक्नुपर्छ । मनमनमा आग्रह र दुराग्रह पालेर सत्य र सही कुरा जान्न र पहिचान गर्न सकिँदैन । कतिपय माक्र्सवादी, लेनिनवादी, मालेमावादी वा आफूलाई अब्बल प्रगतिवादी वा प्रगतिशील विचार र सर्जक नेता र लेखकहरु त यस सबालमा कमजोर देखिन्छन भने कम्युनिष्ट शब्दसितै घृणा गर्नेहरु ओलीलाई नै मन पराउँदैनन भने उहाँका सही विचारलाई समर्थन गर्छन भन्ने अहिले नै आश छैन तर अहिले ओलीको आलोचना गरे पनि परिणाममा वाग्ले ओलीको समर्थनमा अवश्य आउनेछन । तर्क, तथ्य, सत्य र वास्तविकताका अगाडि बुद्धिजीवी हो भने उसलाई आफ्नै अररा र अतार्किंक कुरामा अड्डी कसेर राँडेर्वाँइ गर्न सुहाउँदैन ।

एकातिर तुइन विस्थापित गर्ने ओली सरकारलाई पीत वस्त्रधारी प्रसिद्ध गायिका आनी छोइङले सरकारलाई एक करोड आर्थिक सहयोग गर्छिन तर अर्का पीतप्रसिद्ध मानव अधिकारवादी कहलिएका वस्त्रधारी कृष्ण पहाडी ओलीलाई रातोदिन सत्तोसराप मात्र गरिरहन्छन् । अनि मानव अधिकार र नागरिक समाजका नाताले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न सुहाउँछ ? प्रधानमन्त्रीविरुद्ध तथानाम भन्न सुहाउँछ ? मांसाहारी आन्दोलनको रिहर्सल गर्न मिल्छ ? रघु पन्तलगायत खास कुनै पार्टीका नेता र निर्वाचनमा पार्टी उम्मेदवार भएका र नाकाबन्दीका बेला दशगजा पारि गएर नेपालतिर ढुङगामुढा बर्साउन उक्साउने संग्रौला थरि मानव अधिकारवादी तथा नागरिक समाज वा ! शिक्षक र प्राध्यापक आन्दोलनमा आएर कुटिए, पिटिए तिनका विद्यार्थी पनि सक्रिय सहभागी हुन्थे भन्ने माथेमा गुरुको विचार उत्तेजित गर्ने खालको होइन ? मुठभेटको उत्तेजित वातावरण आफैँ निर्माण गर्ने अनि अनर्गल प्रलाप गर्न सुहाउँछ ?

प्रधानमन्त्री ओली सर्वगुण सम्पन्न हुनुहुन्छ भन्ने होइन । उहाँलाई देवत्वकरण गर्ने कुरा पनि सही होइन र हुँदैन । तर ओली यो युगका बहुआयामिक विषय र क्षेत्रका सिर्जनात्मक महान क्षमता व्यक्तित्व हुनुहन्छ । ओलीले राम र अयोध्याको विषय उठानको उदेश्य परम्परागत अन्ध विश्वासी धार्मिक चिन्तन र चेतसित कदापि सम्बन्धित छैन । तर अबूझहरु कम्युनिष्ट ओली एकातिर प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा ईश्वरको कसम खानु हुन्न तर अर्कातिर राम भगवानको भक्तिभाव प्रकट गर्नुहुन्छ भनेर खिसीटिउरी गर्छन । तर तिनले के बुझ्नुपर्छ भने ओली जीवन जगतको रचना राम आदि भगवानले गरेको हो भन्ने रुढीवादी मान्यताको पक्षधर हुनु भएको चाहिँ किमार्थ होइन ।उहाँका अनुसार हालसम्म भगवान मानिएका रामचन्द्र आदि सांस्कृतिक सम्पदा हुन र धरोहर हुन । उनीहरु मानवका एक पुर्खा हुन । अझ क्रान्तिकारी कम्युनिष्ट मुलुक चीनले देशका परम्परागत धार्मिक, सांस्कृतिक बौद्धिक तथा भौतिक सम्पदाहरुको पर्याप्त संरक्षण गरेको देखिन्छ ।

नै एक कालखण्डमा धर्म भनेको अफिम भनेको विषय, सन्दर्भ र प्रसंगलाई जथाभावी आफू अनुकूल उपयोग बोल्न विज्ञ भनिने लेखकलाई पटक्कै सुहाउँदैन । २५ सय वर्षअघिका सिद्धार्थ गौतमलाई अहिले देवता मानिरहेका छौँ र हुँदाहुँदा धार्मिक सम्प्रदायका मानिसले बुद्धलाई विष्णु भगवानका एघारौँ अवतार मान्छन । विश्व ब्रम्हाण्डको उत्पत्तिका बारेमा विकासवादी धारणाले सृष्टिवादी, अन्धविश्वासी मत, मान्यतालाई खण्डित गरिसकेको छ । यसअनुसार जगत प्रकृतिको लामो विकासको नतिजा हो । यसका आधारमा जीवहरु भौतिक संसारकै परिवर्तन र विकासबाट उत्पत्ति भएका हुन । वैज्ञानिकहरु तथा इतिहासविदहरुले जीवन जगतको सृष्टि तथा मानव उत्पत्तिका बारेमा समयसमेत किटानी गरेर तथ्यहरु उजागर गरिसकेका छन । मानवको उत्पत्ति र विकास सम्बन्धमा पनि वैज्ञानिक खोजहरु र त्यसको समय, सालसमेत उल्लेख गरिसकेका छन ।

यसरी ब्रम्हा, विष्णु, महेश्वरलगायत हामीले मानिआएका देवी द्यौताको समय र कालखण्ड निर्धारण गरेको देखिन्छ । वेद, उपनिषद, रामायण र महाभारतलगायत धार्मिक सांस्कृतिक ग्रन्थहरुको रचनाकाल समेतको खोज गरी निक्र्यौल गरिसकेको अवस्था छ । यी सबै तथ्य र वास्तविकताले समाजले मानिआएका भगवान र भगवतीहरु आदि मानव हुन भन्ने पुष्टि भइसकेको छ । उपर्युक्त कतिपय धार्मिक सांस्कृतिक ग्रन्थहरु कल्पनाको रङ्गले रङगाइएका भए पनि ती यथार्थ र वास्तविकताका धरातलमा आधारित छन र देखिन्छन । त्यसैले रामायण र महाभारत आदि ग्रन्थहरु कथा, किम्वदन्ती र काल्पनिक कृति मात्र होइनन । हामीले परम्परागत सोच र संस्कृतिका कारण आराध्यदेव मानेका ब्रम्हा, विष्णु, महेश्वर, कृष्ण, दुर्गा, युमा, पारुहाङ आदि तमाम आदि पुर्खाहरु आआफ्ना कालखण्ड र सम्प्रदायका युग नायक हुन् । भगवानलाई स्वामी, शक्तिशाली, ईश्वर, शक्ति सम्पन्न, योग्य, समर्थ, शक्ति र व्यक्तिका रुपमा अथ्र्याएको पाइन्छ ।

चार्वाक जस्ता भौतिकवादी दार्शनिकहरु बौद्धिक तथा नवीन चिन्तकहरु उतिबेला पनि अन्धविश्वासका बारेमा बौद्धिक रुपमा द्वन्द्वरत थिए । उनीहरुले अध्यात्मवादी सृष्टिवादको खण्डन गर्दै आगो, बतास, पानी र पृथ्वी यी चार मूल र अनादि तत्व हुन भनेका छन । उपर्युक्त ग्रन्थहरुमा तत्कालीन समाजको ज्ञानको र सूचनाको सीमितताका कारण जीवन जगत सम्बन्धी कतिपय अन्धविश्वास र रुढीग्रस्त धारणाहरु रहेका छन । तर ती पनि समय क्रममा खण्डित हुँदै गएका छन । भगवान मानेका चन्द्र सूर्य पृथ्वीका एक ग्रह हुन भन्ने धारणा स्थापित विकसित हुँदै गएको छ । चन्द्र र चन्द्रग्रहणलाई धार्मिक, आध्यात्मिक तथा रुढी ग्रस्त धारणाहरु क्रमशः भत्किन थालेका छन । यस्ता विषयमा गम्भीर नबनी वाग्ले जस्ता कतिपय बुद्धिजीवी तथा लेखकहरु बौद्धिक विलास र विग्रह गर्न उद्यत देखिन्छन ।

अब धर्म, अध्यात्म र देवी देवता बारेमा अन्ध धारणामा रुपान्तर गर्नु अपरिहार्य देखिन्छ । अध्यात्मलाई अब रुढीगत मान्यताका आवरणा मात्र राखेर हुेर्नुहुन्न । अध्यात्म भन्नाले वस्तु, पदार्थ र जीवमा निहित अन्तर तह, अन्तर जगत, सार, चुरो र अन्तर्य भनेर पनि अथ्र्याइनु पर्छ । एउटै शब्दले पनि प्रयोगका कारण विभिन्न अर्थवहन गर्छ । प्राविधिक र वा पारिभाषिक रुपमा एउटै शब्दका विभिन्न र विशिष्ट अर्थ हुन्छन । जनप्रशासन र संस्कृति इतिहास जस्ता दुई फरक विषय र क्षेत्रमा प्रचलित अभिलेख शब्दका दुई भिन्न र विशिष्ट अर्थ हुन्छन । जनप्रशासन क्षेत्रमा अभिलेखको अर्थ रेकर्ड भन्ने हुन्छ भने इतिहास र संस्कृति क्षेत्रमा अभिलेखको अर्थ अध्ययन र अनुसन्धानको विशिष्ट सामग्री भन्ने हुन्छ ।

धर्म, देवी, द्यौता र संस्कृति जस्ता विषयका यथार्थ सत्य तथ्य जीवनोपयोगी विषय उजागर गर्ने, तिनमा निहित सकार स्वीकार्ने र नकार अस्वीकार गर्ने चिन्तनको अभाव हुँदा बिरालो बाँध्ने संस्कारबाट बौद्धिक समाज प्रभावित देखिएको हो । धार्मिक धारणाका विषयमा हेगेलको टाउको टेकेर उभिएको प्रत्ययवादी वा अधिभौतिकवादी जीवनजगत सम्बन्धी चिन्तनलाई कार्लमाक्र्सले खुट्टाले टेकाएझैँ टेकाउने बौद्धिक प्राज्ञिक चिन्तनको अहिले नेपालमा सर्वथा अभाव देखिन्छ । विरोध गर्न सजिलै छ, तर तथ्य, सत्य र वास्तकिताको कसीमा राखेर सही निष्कर्ष निकाल्न सजिलो छैन र हुँदैन ।

वास्तवमा धर्म भनेको कुनै पनि वस्तु पदार्थमा निहित गुण, विशेषता र पहिचान हो । पानीको धर्म भिजाउनु, तिर्खा मेटनु, सिँचाइ गर्नु र आगोको धर्म डढाउनु हो । धार्मिक पौराणिक ग्रन्थहरुमा धर्मका धेरै लक्षणहरु बताइएको पनि छ । धर्म भनेको केवल रुढीग्रस्त, अन्धविश्वासी र ढोँगी विषय मात्र होइन । यसको अर्थ आशय मनुस्मृतिलगायत ग्रन्थहरुमा निम्न अनुसार गरिएको देखिन्छ :

धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रह:
धीर्विद्या सत्यमक्रोधो दशकं पञ्च लक्षणम

सुखदुःखमा एक नास रहनु वा धैर्य गर्नु, सहन गरेर समस्याको समाधान गर्नु वा क्षमा गर्नु, मनलाई आफ्नो बसमा राख्नु वा दमन गर्नु, अरुको हकमा हस्तक्षेप नगर्नु अस्तेय वा नचोर्नु, सत्यको पक्ष लिनु, नरिसाउनु वा रिसलाई नियन्त्रण गर्नु, शरीर शुद्ध राख्नु, इन्द्रिय निग्रह अर्थात आफ्ना इन्द्रियहरु बसमा राख्नु जस्ता धर्मका दस लक्षण हुन भनिएको पाइन्छ ।

मानव समाजको हित, सेवा र उपकारका खातिर प्रकृति तथा प्राकृतिक सम्पदाहरुको धर्म वा गुणलाई आधार मानेर मानव जातिले धर्मको परिकल्पना, प्रारुप र विकास गरेको बुझिन्छ । हुन पनि मानवजस्तो उच्च, उन्नत विचार र विवेकयुक्त प्राणीको धर्म वा गुण विशिष्ट हुनुपर्ने कुरा स्वतः सिद्ध देखिन्छ । हाम्रा अग्रज पुस्ताहरुले पनि प्रकृतिको धर्म वा गुणझैँ गुणयुक्त मानव समाजको परिकल्पना गरेको देखिन्छ । यसरी सुरु र विकसित धर्म, सम्प्रदाय र संस्कृतिका धर्म सम्बन्धी मान्यताहरु विकसित भएका हुन ।

यसरी उन्नत तथा उदात्त चेतनाको मानवले आफूलाई सामान्य पेटु प्राणी भन्दा पर्याप्त पृथक पहिचान बनाउन सामाजिक सेवालाई धर्मका रुपमा अवलम्बन गर्यो । यसैले व्यासले अठार पुराणको सार परोपकार पुण्य हो र परपीडन पाप वा अधर्म हो भन्ने निष्कर्ष उल्लेख गरेका हुन् ।उपर्युक्त नवीन सत्य, तथ्य र वास्तविकता हुँदाहुँदै पनि कतिपय विद्वानहरु प्रधानमन्त्रीले कुनै पनि मठमन्दिरमा गएर विश्व शान्ति र देशको समृद्धिको कामना स्वरुप दीप प्रज्वलन गर्नु नाजायज होइन । हामी हाम्रा दिवंगत नेता र मान्यजनलाई श्रद्धा र सम्मान गछौँ । आफ्नै मनोवल उच्च र स्वस्थ राख्ने ध्यान प्रणायम पनि गछौँ ।

सबै धर्म र संस्कृतिभित्र विद्यमान मानवतावादी र जीवनोपयोगी अनेक धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई ओझेल पारेर आम जनतालाई भ्रमित पारिएको छ । भाग्यवादको अहोरात्र भाष्य, भजन र कीर्तन गरिन्छ, गराइन्छ तर त्यहीँ आलश्यं हि मनुष्याणाम् शरीरस्थो महान रिपुः अर्थात अल्छेपन नै मानिसको सबैभन्दा ठूलो शत्रु हो भन्ने जस्ता अनेक श्रुति, उक्ति र सन्दर्भको चर्चा नै गरिँदैन । त्यसैले यस्ता विषयमा कलात्मक हस्तक्षेप गरी धार्मिक सांस्कृतिक विषयमा समयानुकूल रुपान्तरण गर्ने प्रधानमन्त्री ओलीको सकारात्मक सोच बुझ्न नसक्नु हो ।