काठमाडौं, फागुन २४
डचिस अफ ससिक्स मेगन मार्कलले ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन् ।
व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रेसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि नपाएको बताइन् । उनले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमीठो अनुभव भएको बताइन् ।
राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चार्ल्सले आफ्नो फोन नै उठाउन छोडेको बताए । बहुप्रतीक्षित सो अन्तर्वार्ता आइतवार राति अमेरिकामा प्रसारण भएको थियो ।
सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा बोलेका छन् । उनीहरूले मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेका छन् ।

न् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । गत महिनामात्रै उनीहरू राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरिएको थियो । अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् । मेगनले सन् २०१८ को विवाहपछि अवस्था बिग्रिन सुरु भएको बताएकी छन् ।
‘मैले यो बुझेँ कि उनीहरू मलाई बचाउ नगर्ने मात्रै होइन, उनीहरू परिवारका अन्य सदस्यलाई बचाउ गर्न झुटो बोल्न पनि तयार थिए’, उनले भनिन्, ‘तर उनीहरू मलाई र मेरो पतिलाई बचाउन सत्य बोल्न पनि तयार थिएनन् ।’ ओप्राले आत्महत्याको सोच आएको थियो कि भनेर सोधेको प्रश्नमा मेगनले भनिन्, ‘थियो । यो एकदमै स्पष्ट थियो । एकदमै स्पष्ट र एकदमै डरलाग्दो । कोसँग कुरा गरौँ भन्ने मलाई थाहा थिएन ।’
पहिलो आधा अन्तर्वार्ता एक्लै दिएकी मेगनलाई त्यसपछि ह्यारीले साथ दिएका थिए । ह्यारीले आफ्नो परिवारको अन्य सदस्यहरूसँगको सम्बन्धको बारेमा कुरा गरेका थिए । उनले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू नियमित कुराकानी गर्ने बताए । तर उनको बुवा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको उनले बताए । राजकुमार विलियमको सम्बन्धमा उनले आफू दुई फरक बाटोमा हिँडेको बताए । आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छोडेको पनि उनले बताए । (बिबिसी)
प्रतिक्रिया दिनुहोस्