जनता टाइम्स

११ जेष्ठ २०७८, मंगलवार १०:२८

झलनाथ र माधवः प्रचण्डको सङ्क्रमणले लियो ‘ज्यान’


सर्वोच्च अदालतले एमालेलाई ब्युँताइ दिएपछि, माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा समाहित भएपछि र एमाले केन्द्रिय कमिटी र संसदीय दलमा झिनो अल्पमतमा परेपछि भने माधव नेपालको दुर्दिन शुरु भयो । अंग्रेजी नाटककार शेक्सपियरका दुखान्त पात्रहरूको हालत भयो । माधव नेपालको राजनीतिक जीवन गम्भिर बिरामी भयो, हस्पिटलाईज भयो । पार्टी अध्यक्ष हुनुको नाताले झलनाथ खनाल, माधव नेपाल, भीम रावलहरूको राजनीतिक जीवन सङ्कटमा नपरोस् भन्ने पुनित अभिप्रायले कार्यदल बनाएर के पी ओलीले उनीहरुको माग सम्बोधन गर्ने प्रयास गरे पनि त्यो त्यतिबेला निस्प्रभावी बन्यो, जतिबेला माधव-झलनाथ पक्षले एमालेको आधिकारिक उम्मेद्वार रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभाको उप-चुनावमा हराउन आत्मघाती कदम चाल्यो । संघीय संसदमा पार्टीको सरकारलाई गिराउन विपक्षी कित्तामा गएर हस्ताक्षर गर्ने सम्मका हर्कत भए । यी घटनाले झलनाथ-माधवहरूको राजनीतिक जीवनको ‘अक्सिजन’ स्वात्तै घटाईदियो, भेन्टिलेटरमा पठाईदियो

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले पार्टी विरोधी गतिविधिमा निरन्तर संलग्न नेताहरू झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायत एघार जनालाई पार्टी सदस्य समेत नरहने गरी निश्कासन गरेको छ । लामो समयदेखि विपक्षीहरूसंग मिलेर पार्टी र सरकारलाई घात गरिरहेका उनीहरूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओलीले हदैसम्म लचिलो भए पनि झलनाथ खनाल र माधव नेपालको बरू छुट्टिने तर ओलीसंग नमिल्ने आत्माघाती सोचाईका कारण त्यो संभव भएन ।

एमालेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतिको टाउको’भन्ने झलनाथ खनाल साविक नेकपा हुदै वर्तमान राष्ट्रपतिलाई बीचैमा हटाएर आफू राष्ट्रपति बन्ने चाहन्थे । आश्वासन शिरोमणि प्रचण्डले उनलाई त्यो दिए । ओलीलाई पार्टीमा सिध्याएपछि हाताहाती राष्ट्रपति पाई हालिनेमा ढुक्क देखिन्थे उनी । त्यतिमात्र होईन, बीचमै प्रचण्डलाई प्रधानमन्त्री बनाउने, पार्टी कब्जा गर्ने र राष्ट्रपति र प्रधानमन्त्री मिलेर चीनको जस्तो एकदलीय राजनीतिक प्रणाली स्थापना गर्नेसम्म भित्री सहमति गरेका थिए । जनताको बहुदलीय जनवादसंग अलिअलि साईनो राख्ने माधव नेपाल र बामदेव गौतमलाई समेटेर साविक नेकपाको सचिवालयमा प्राविधिक बहुमत बन्न पुग्यो ।

जनताले पाँच बर्ष शासनसत्ता सञ्चालन गर्ने अभिमत पाएका के पी शर्मा ओलीलाई घेराबन्दी गर्न शुरू गरियो । प्रधानमन्त्रीविरुद्ध १९ बुँदे आरोप-पत्र तयार पार्न झलनाथ खनालको सबभन्दा सकृय सहभागी भएको देखिन्छ । सो आरोप-पत्रको भाषा शैली हेर्दा यो प्रष्ट हुन्छ । के पी शर्मा ओली सरकारको पालामा भएका राम्रा कामलाई पनि विद्रुपीकरण गर्न यिनी उद्दत देखिए । ‘धरहरा ओलीले बनाएको होइन, कालीगरले बनाएको हो, चुच्चे नक्सा ईन्जिनियरले बनाएको हो, ओलीले होईन’ आदि ।

अर्का नेता माधव नेपालले जतिसुकै विधि पद्धतिको डङ्का पिटाएको भए पनि उनी सधै पदको पुजारी हुन् भन्ने कहीं कतै छिपेको छैन । साविक नेकपामा प्रचण्डसंग मिलेर प्राविधिक बहुमत बनाएपछि सो ‘बहुमत’ले दुईवटा कार्यकारी पद बाँडचुँड गरे । अर्थात् के पी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट किस्ताबन्दीमा हटाउने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने र पार्टी अध्यक्ष माधव नेपालले लिने मार्ग तय गर्यो ।

पार्टीमा तत्काल बनेको बहुमतबाट अति नै हौसिएका माधव नेपाल पार्टी बिधि, पद्धति र परम्परा र मर्यादाको सीमा एकपछि अर्को गरी नाघ्न थाले । महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको जस्ता उट्पट्याङ घोषणा गर्न थाले । उनले त्यतिमात्र गरेनन्, पार्टी अध्यक्षको रुपमा संवैधानिक निकायमा पत्रचार गर्न थाले । पेरिसडाँडाको कार्यालयमा पार्टी अध्यक्षको नेम प्लेट राखेर काम थालिसकेका थिए । प्रचण्डसंगको नाजायज उठबसले उनी पनि जनताको बहुदलीय जनवादलाई ‘प्रतिगमनकारी विचार’ भन्न थालेका थिए ।

सर्वोच्च अदालतले एमालेलाई ब्युँताइ दिएपछि, माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा समाहित भएपछि र एमाले केन्द्रिय कमिटी र संसदीय दलमा झिनो अल्पमतमा परेपछि भने माधव नेपालको दुर्दिन शुरु भयो । अंग्रेजी नाटककार शेक्सपियरका दुखान्त पात्रहरूको हालत भयो । माधव नेपालको राजनीतिक जीवन गम्भिर बिरामी भयो, हस्पिटलाईज भयो । पार्टी अध्यक्ष हुनुको नाताले झलनाथ खनाल, माधव नेपाल, भीम रावलहरूको राजनीतिक जीवन सङ्कटमा नपरोस् भन्ने पुनित अभिप्रायले कार्यदल बनाएर के पी ओलीले उनीहरुको माग सम्बोधन गर्ने प्रयास गरे पनि त्यो त्यतिबेला निस्प्रभावी बन्यो, जतिबेला माधव-झलनाथ पक्षले एमालेको आधिकारिक उम्मेद्वार रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभाको उप-चुनावमा हराउन आत्मघाती कदम चाल्यो । संघीय संसदमा पार्टीको सरकारलाई गिराउन विपक्षी कित्तामा गएर हस्ताक्षर गर्ने सम्मका हर्कत भए । यी घटनाले झलनाथ-माधवहरूको राजनीतिक जीवनको ‘अक्सिजन’ स्वात्तै घटाईदियो, भेन्टिलेटरमा पठाईदियो ।

लामो समयसम्म पार्टीको नेतृत्व गरेका झलनाथ खनाल र माधव नेपालको एमालेको राजनीतिक जीवनको दुखान्त भएको छ । उनीहरूको राजनीतिक जीवन बचाउने एमालेको सारा प्रयास खेर गएको छ । नेपाली जनतालाई कोरोनाले आक्रान्त पारेको छ । एमालेलाई प्रचण्डको सङ्क्रमणले आक्रान्त पारेको छ । सामाजिक दुरी कायम गर्ने, प्रचण्ड सङ्क्रमितलाई आएसोलेट गर्ने, बाँकी सङ्क्रमितलाई विचार र संगठनको ‘अक्सिजन’ दिने र भेन्टिलेटरमा जान नदिने तर्फ सिङ्गो एमाले सकृय हुनु अहिलेको ज्वलन्त आवश्यकता हो ।