जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १५:३६

माधव नेपालकै अनिच्छाले भाँडियो मिलिसकेको एमालेको एकता, यी हुन देखिने तथ्य


काठमाडौं, जेठ १४ । घटनाक्रमले नेकपा एमाले मिल्न नसक्नुमा निश्काशित नेता माधवकुमार नेपालकै अनिच्छा प्रमुख कारण रहेको तथ्यले देखाएको छ । एकताभन्दा पनि एमालेको ठुलो हिस्सा लिएर नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने वा छुटै पार्टी बनाएर जाने नेपालको योजनाको कारण एमाले एकजुट हुन नसकेको हो । गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेपालका हरेक गतिविधि एमाले एकताभन्दा अन्यत्र छ।

एमालेको ठुलो हिस्सा लिएर माओवादी केन्द्रसँग मिल्न वा छुटै पार्टी निर्माण गरेर जाने उहाँको चाहना क्रियाकलापले प्रष्टै बताउँछन्। फागुन २३ मा नेपाल एमालेको पार्टी कार्यालय धुम्बाराही जानु साटो माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा पुगेर यही योजना र रणनीतिका साथ फर्किनुभयो ।त्यसयता पनि उहाँ पेरिसडाँडा गइरहनु भयो तर न धुम्बाराही न त प्रधानमन्त्री कार्यालय बालुवाटार नै जानुभयो । यही योजना र रणनीतिअनुसार नेपाल ओलीसँग आन्तरिक संघर्ष गर्नुको साटो देशभर समानान्तर गतिविधिमा क्रियाशिल हुनुभयो। समानान्तर गतिविधिलाई पार्टीको अन्तरसंघर्षका रूपमा आमकार्यकर्ताले बुझे र उनीहरू क्रियाशिल पनि रहे।

ओली नै पार्टी एकताको पक्षमा छैनन् भन्ने कार्यकर्तालाई विश्वस्त बनाउने नेपालको योजना थियो। नेपालले अनेरास्ववियु, युवा संघ नेपाल, अखिल नेपाल महिला संघलगायतका भातृसंगठनदेखि जिल्लास्तरमा समानान्तर कमिटी बनाउनु भयो। समानान्तर कमिटी बनाएपछि आफूतिर लागेका नेता कार्यकर्ता संस्थापनतिर जाँन सक्दैनन भन्ने योजनाका साथ कार्यकर्तालाई भ्रममा पारेर कमिटी बनाइयो । नेपालले यो तीन महिनाको अवधिमा एमाले एक हुनुपर्छ भन्ने कुनै पनि गतिविधि गर्नुभएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटको प्रयास र पहलसमेत गर्नुभएन । बरु प्रचण्डको बखान गर्दै पार्टीअध्यक्ष ओली र सरकारविरुद्ध प्रतिपक्षी दलभन्दा खरो रूपमा उत्रनु भयो। आफू समर्थक कार्यकर्तालाई ओलीविरुद्ध उचालेर एक हुन नसक्ने अवस्था बनाउनु उहाँको उद्देश्य थियो।

दोस्रो तहका नेतासँग पटक पटक पार्टी एकताका लागि पहल गर्न दबाब दिए पनि नेपालले खासै ठाडो कान लगाउनु भएन। एमाले र माओवादी केन्द्र ब्युँतिएपछि वैशाख ८ गते ओली र नेपालको एकपटक मात्र भेट भयो। सर्वोच्चको निर्णयको पनि एक महिनापछि मात्रै भएको उक्त भेट पनि दोस्रो तहका नेताको दबाबमा भएको थियो। चैत्र २ मा धुम्बाराहीमा भेट हुँदा ओलीले चैत ५ र ७ मा हुने केन्द्रिय समितिको बैठकमा आउन निमन्त्रणा गरे तर उल्टै नेपाल पक्षले चैत्र ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्‍यो। संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उहाँले अरुलाई जान पनि रोक्नुभयो । वैशाख ८ को भेटघाट पनि आफूनिकट २७ जनालाई प्रतिनिधि सभाका सदस्यलाई स्पष्टीकरण सोधिएपछि नेता योगेश भट्टराई र घनश्याम भुसालको अनुनय विनयपछि भएको थियो।

सुरुआतमा जिल्ला तहमै छुटै गतिविधि गरेर आफ्नो पक्षलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्नुभएका नेपालले केन्द्रीय तहमा अति विश्वास पात्र मूलधारमा फर्किन थालेपछि भने झस्किनु भयो। यी सवै तथ्य बुझेर नै सबैभन्दा विश्वास पात्र विष्णु रिजालले पनि नेपाललाई छाडनुभयो । लालबाबु पण्डित, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेल लगायतले यसअघि नै छोडिसक्नु भएको थियो । एकताका योगेश भट्टराई, गोकर्ण बिष्टजस्ता नेताको दबाब नेपालमाथि पर्‍यो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ढाडसमा नेपाल पर्नुभयो । दाहालले ओलीविरुद्ध नेपाललाई उचालिरहनु भयो। प्रधानमन्त्रीको ओलीको विश्वास मत लिने भनिएकै दिन नेपाल पक्षले राजीनामा दिने तयारी थियो। आफूनिकट सबै सांसदलाई सिंहदरबार बोलाइयो तर भविष्य भएका दोस्रो तहका नेताले राजीनामा दिन अस्विकार गरे। पार्टीको ह्विप उल्लंघन गरी त्यसपछि अनुपस्थित भई ओलीलाई विश्वासको मत लिनबाट वञ्चित गराउने काम भयो। वैशाख २७ गते बिहान राजीनामा दिन बसेको नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेर बाहिरियो।

त्यसपछि दोस्रो तहका नेताको प्रयासमा नेपालसहितका निलम्बनमा परेका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गरियो। वैशाख ३० मा ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता भयो। अध्यक्ष ओली नेपाल पक्षका मागमा सहमत पनि हुनुभयो। यो सहमतिपछि आमकार्यकर्तामा आशाको सञ्चार भयो। अब एमाले मिल्ने भयो भन्दै कार्यकर्तामा खुसीयाली पनि छायो। त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखियो। दुवै पक्षका पाँच पाँच जनाको कार्यदल पनि बन्यो। कार्यदल एकताका एजेन्डा बनाउन लाग्यो। तर कार्यदलमा माधवले योगेशलाई पार्नुभएन । बिभाजनमै रमाइरहनुभएका विश्वासपात्र रघुजी पन्तलाई राखियो। नेपालले पार्टीको आधिकारिक उम्मेद्वार रामबहादुर थापालाई सहयोग नगरेर स्वतन्त्र उमेद्वार डा. खिमलाल देवकोटालाई जिताउनु भयो। यसअघि पार्टीको ह्वीपविरुद्ध कर्णालीमा फ्लोर क्रस गराउने र लुम्बिनीमा आफूनिकट सांसदलाई राजीनामा गराएर एमालेलाई सत्तामा जान नदिने र ओलीलाई सत्ताच्यूत गर्ने काममा नेपालको प्रष्टै भुमिका थियो ।

यतिले मात्र नेपालको चित्त बुझेन, पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने योजनाविरुद्ध देउवा निवासमा भएको छलफलमा नेपाल सहभागी हुन पुग्नुभयो । पार्टी एक ढिक्का गर्न आचारसंहिता बनाउन कार्यदल लागिरहेको बेला नेपालको यो निकृष्ट कामले बातावरण बिथोलियो । दलका सदस्य भीम रावललाई लिएर नेपाल देउवा निवास पुगी प्रधानमन्त्री बनाउन आफ्नो पक्षको हस्ताक्षरसहित आउने विश्वास दिलाउनु भयो । यसअघि नै राजीनामा दिने र कांग्रेसको चुनाव चिन्ह रुखबाट उपचुनाव लडेर आउने सहमति नेपाल र रावलले देउवासँग गरिसक्नु भएको थियो । यस पटक पनि केही सांसद असहमत भएपछि म आफैं प्रधानमन्त्री हुने भन्दै हस्ताक्षर गर्न लगाउनु भयो । तर २६ सांसदको हस्ताक्षरसहित उपस्थित भएर नेपाल देउवालाई समर्थन जनाउन राष्ट्रपति कार्यालय पुग्नुभयो। संसदीय इतिहासमै कालो धब्बा पोतेर नेपाल कलंकित बन्नुभयो तर यस्तो अवस्थामा पनि दुवै पक्षका दोस्रो तहका नेता भने फुटबाट रोक्न प्रयासरत रहे।

अध्यक्ष ओलीको तर्फबाट पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लाग्नुभएको थियो भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई। दुवै पक्षका ६ नेताले जेठ ९ मा चार घण्टा लामो अन्तिम गृहकार्य गर्नुभयो। जसमा ओली जेठ २ मा फर्कन सहमत भएको सार्वजनिक अभिव्यक्ति दिने र आवश्यक परे लिखित प्रतिवद्धता नै जनाउने र नेपाल पक्षका सांसद सर्वोच्च अदालत जानबाट पछि हट्ने सहमतिजस्तै भयो। ओली पनि सहमत भइसक्नु भएको थियो । सहमतिअनुसार जेठ १० मा दिउँसो साढे १२ बजे बालुवाटारमा बैठक बोलाइयो। रावलले सुरुमा हुन्छ भन्ने जवाफ दिनुभयो। तर रावल बैठकमै आउनु भएन । बार्ता टोलीका अन्य सदस्यलाई पनि आउन दिनुभएन । बालुवाटारमा अध्यक्ष ओलीसहितका नेताहरु नेपाल पक्षका नेतालाई १ बजेसम्म कुरेर बस्नुभयो। तर नेपाल पक्ष सर्वोच्चतिर गयो।

नवौ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि नेपालको तुस ओलीप्रति थियो। नेकपा एकीकरण पनि उहाँले सहज मान्नुभएको थिएन । ओली र दाहालले चोसोमोचो मिलाएर आफूलाई एक्ल्याएको आरोप उहाँको थियो। ओली र दाहालको सम्बन्ध बिग्रिन थालेपछि भने नेपाल दाहालसँग मिलेर ओलीविरुद्ध छिमेकीले बोकाएको भारी बोकेर ओलीबिरुद्ध खनिनु भयो । दाहालले ओलीविरुद्ध ल्याएको १९ बुँदे आरोप पत्रमा नेपालको समर्थन र सहयोग रह्यो। नेकपा रहँदा नै दाहाल, नेपाल, गौतमलगायत सचिवालयका बहुमत सदस्य ओलीविरुद्ध लागे। पार्टीकै नेताहरू आफूलाई सरकारबाट च्युत गराउन सक्रिय भएपछि ओलीले २०७७ पुस ५ प्रतिनिधि सभा नै विघटन गरिदिनु भयो ।

यसपछि त दाहालसँग मिलेर नेपालले ओलीलाई चारपटक साधारण सदस्यबाटै निकालेको घोषणा गर्नुभयो । ओलीलाई निकालेर नेपाल आफै सडकबाट अध्यक्ष बनेको घोषणा गर्नुभयो। देशभर दाहाल नेपाल समुहले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन छेडे। २०७७ फागुन ११ मा एक्कासि प्रतिनिधि सभा पुनःस्थापित भयो। सबैभन्दा खुसी माधव नेपाल हुनुभयो। फागुन २३ मा नेपाल र दाहालले नसोचेको फैसला अदालतबाट आयो। । सर्वोच्चले नेकपा ऋषि कट्टेलको भनिदियो। अब एमाले र माओवादी केन्द्रलाई ब्युँतियो। नेपाल र दाहाल छाँगाबाट खसेझैं भए। यतिबेलासम्म गर्नुसम्मको अपराध गरिसकेको कारण आत्मग्लानीले नेपाल एमालेमा बसिरहने मनस्थितिमा रहनुभएन ।

नेपाल ओलीसँग मिल्न नचाहनु कुनै वैचारिक र सैद्धान्तिक कारण नभएर इगो मात्रै थियो। १५ वर्ष एकछत्र पार्टीमा राज गर्नुभएका नेपाललाई अर्को व्यक्तिको मातहतमा काम गर्न अत्यन्त असहज भयो। ओलीबाट उहाँले सम्मान नपाएको बताए पनि आफूले भने जसरी मात्रै हिडनु पर्ने सर्त स्वीकार भएन । त्यसो त २०७१ सालको पार्टीको अध्यक्ष पराजित हुनुलाई पनि उहाँले स्वाभाविक ठान्नुभएको थिएन । यी सबै तथ्यहरुले नेपाल एमालेमा रहने मनस्थितिमै नरहेको स्पष्ट हुन्छ। दोस्रो तहका नेता र कार्यकर्ताको मन राख्न मात्रै नेपाल एकताको नाटकमा सहभागी भएको देखिन्छ।