जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १७:१६

कमरेड माधव नेपाल, आयाराम हुने कि गयाराम हुने ?


देश आए’ दुरुस्त आए’ भने जस्तै अझै बिग्रि हालेको छैन । तपाईहरुको निष्कर्ष र मागप्रति सम्बोधन गरि प्रतिवद्धता व्यक्त गर्नुलाई अध्यक्ष ओलीको कमजोरी ठान्दै फेरि अनेक बखेडा झिकेर ‘हलो अड्काउने, गोरु कुट्ने’ जस्तै नगर्नुस् । नेता, कार्यकर्ता र जनताले बुझेका छन् । बाँदरले घाँउ कोट्याए जस्तो अतित कोट्याएर कहीँ पुगिदैन । अब विगत फर्किएर होइन भविष्यमूखी भएर हातेमालो गर्दै अघि बढ्नोस । फेरि पनि कहिले विष वृक्ष त कहिले कठपुतली भन्दै हमला गर्नेहरुको अहिले माया जालमा फस्दै पार्टी र आन्दोलनमाथि घात गर्ने कसम नै खानुभएको छ भने भन्नु के छ र ? भीरबाट लड्ने गाइलाई राम, राम । भन्ने बाहेक के नै भन्न सकिन्छ र ? अब आयाराम हुने कि विभिन्न शक्ति केन्द्रको रोडम्यापमा हिड्दै गयाराम हुने तपाईहरुकै हातमा छ ।

राजेन्द्र अर्याल

आफुहरुले अघि सारेका मागहरुका सार्वजनिक रुपमा लिखित सम्बोधन गरेमा मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकता पक्षमा रहेको ठहर गर्ने निष्कर्ष निकालेको खनाल–नेपाल समूहको ‘कोर्ट’ मा पार्टी एकता बचाउने कि विभाजनको कलंकको टीका लगाउने भन्ने बल पुगेको छ । खनाल–नेपाल पक्षले अध्यक्ष ओलीलाई एकता विरोधी र समस्याको एक मात्र बाधक बनाउने योजनासहित वैकल्पिक बाटो अवलम्बन गर्ने तयारीमा रहेको खनाल–नेपालको निष्कर्षको मसी सुक्न नपाउँदै अध्यक्ष ओलीले उनीहरुका मागलाई सम्बोधन गर्दै सार्वजनिक आव्हान गर्नु भएको छ, पार्टी एकता बचाउनका लागि ।

मुलुकको सबैभन्दा लोकप्रिय र ठूलो शक्तिमा रहेको छ, नेकपा एमाले । कानुनी र प्राविधिक रुपमा एउटै भएपनि राजनीतिक गतिविधिका हिसावले विभाजित अवस्थामा पुगेको यो पार्टीलाई एकताबद्ध बनाउन र विभाजनबाट बचाउन प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले गर्नुभएको सार्वजनिक आव्हानलाई पार्टी र आन्दोलन बचाउन जस्तोसुकै रिस्क ल्याउन पनि पछि पर्दैन भन्ने अर्का दृष्टान्त देखाउँदै खनाल–नेपाल समूहले गरेको मागलाई सम्बोधन गर्दै पार्टीको संरचना ३ जेठ २०७५ मै फर्कने, यसबीचमा भएका कारवाही फिर्ता हुने र आगामी दिनमा कसैप्रति भेदभाव नगरिने प्रष्ट पार्नुभएको छ ।

जुन आफैमा अप्रत्याशित र आश्चर्यजनक मान्न सकिन्छ । अब खनाल–नेपाल समूहले आफ्नो पार्टीको अध्यक्षका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर एकता भावको हात अगाडि बढाउनुपर्छ । विगत केही समय यता नेकपा एमालेमा जारी विवादका कारण देशभरका नेता, कार्यकर्ता, पार्टी सदस्य र समर्थक, शुभचिन्तकहरु अत्यन्तै चिन्तित बनिरहेका बेला विभाजन र विखण्डनको क्रमलाई निषेध तुल्याउने गरी प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आश्चर्यजनक ढंगले पार्टीलाई एकताबद्ध गराउने हेतुका साथ आव्हान सार्वजनिक गरेपछि पार्टी पंक्ति र जनस्तरमा समेत आशाको संचार सहित नयाँ हलचल ल्याएको छ ।

दुई दिनको जुनेली, फेरि उही अध्यारो रात भने झै हुने त होइन भन्ने प्रश्नले पिरोलिरहेका एमालेजनलाई अध्यक्ष ओलीको पार्टी एकताका लागि गरेको आव्हानले आशाको दियो बालेको छ । नेकपा एमाले नेपाली राजनीतिमा केवल एकथान पार्टी मात्र होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । त्यति मात्र होइन यो पार्टी संविधानको मुख्य रक्षक हो । यो पार्टी हजारौ कार्यकर्ताहरुको पसिना, सयौं शहीदहरुको रगतबाट सिर्जित पार्टी हो । जुन लाखौं जनताको आस्थाको धरोहर हो । पुञ्ज हो । यस पार्टीसँग देशभक्ति पूर्ण आन्दोलन र राष्ट्रियता अविभाज्य ढंगले आबद्ध छ । यससँग केबल एमालेका नेता, कार्यकर्ताहरु मात्रै होइन, मूलुकको वामपंन्थी आन्दोलन, स्वाधीनताको लडाईसँगै नेपाल र नेपालीको भविष्य निर्भर छ । लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणालीसहितको संघीयता कै भविष्य जोडिएको छ । यसर्थ यो पार्टी कमजोर हुँदा वा विभाजित हुँदा आन्दोलन कमजोर हुन्छ भन्ने हेक्का राख्नै पर्छ ।

अहिले पार्टीमा देखापरेको समस्या भनेको कुनै वैचारिक हो नत सैद्धान्तिक नै । जलप त जे लगाउन पनि सकिन्छ । तर मूल समस्या भनेकौ मुख्य नेताहरुको व्यवस्थापनको हो । मूल नेतृत्वलाई कार्यकर्ता र समर्थकहरुले सधैँभरि हस्ताक्षर गरेर खाली चेक (ब्ल्यांक चेक) दिएकै थिए । चाहे पार्टीको होस या मुलुकको होस् शासन सत्तामा केही थान मुख्य–मुख्य नेताहरुकै हालिमुहाली रहँदै आएको जगजाहेरै छ । तै पनि गुनासो र प्रश्न उठेको छैन । ओलीले त पछिल्लो समयमा नेतृत्व गर्न पुग्नु भएको हो ।

जे होस् ‘भाले न पोथी’ का रुपमा चित्रित पार्टीलाई मुलुकको सबै भन्दा ठूलो शक्ति र लोकप्रिय पार्टी बनाउने श्रेय उहाँमा नै जान्छ । जनस्तरमा अहिले यो पार्टी एकदमै प्रिय छ । नेकपा एमाले नाम मात्रै नभएर सूर्य चिन्ह र वैचारिक जननेता मदन भण्डारी, उहाँले अघि सारेको जनताको बहुदलीय जनवाद लोकप्रियको साथै सामथ्र्यका रुपमा रहेको छ । त्यसैले अब सोफामा, सोफाको आकारमा टेबुलपोसको रङमा, आफ्ना मर्यादामा, सुविधा मोहमा मूल्यवान समय खेर फाल्ने विषय अब हुन सक्दैन । अबको नौ महिनामै स्थानीय तहको नियमित निर्वाचन खेर फाल्ने विषय हुन सक्दैन । अबको नौ महिनामै स्थानीय तहको नियमित निर्वाचन आउँदैछ । त्यसअघि मध्यवधि निर्वाचनको घोषणा भएको छ । यी चुनावमा श्रेष्ठता हासिल गर्दै अब्बल बन्नु छ ।

प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले पार्टीको नवौ महाधिवेशनबाट निर्वाचित आफुलाई पार्टी अध्यक्षबाट मात्र होइन संसदीय दलको नेता मात्र होइन, साधारण सदस्यबाटै हटाएका (त्यो पनि पार्टी प्यालेसबाट) लगायतका सबै कुरालाई बिर्सेर एकदम फराकिलो छातीका साथ नयाँ ढंगले एक मना एकताका साथ अघि बढौं भन्ने आव्हान गर्नुभएको छ । यसलाई सबैले खासगरी वैकल्पिक वाटो तय गर्ने निष्कर्षमा रहेका खनाल–नेपाल समूहका नेताहरु, खासगरी वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले आत्मसात गर्दै अघि बढ्न जरुरी छ । तपाईहरुले विगतको योगदानका आधारमा पाउने जति सवथोक पाइसक्नुभयो । खासमा गुमाउनुपर्ने अब छैन ।

पार्टी र राज्यको सर्वोच्च निकायमा एक पटक होइन, पटक–पटक पुग्नु भएको छ । हैसियत पनि प्राप्त गर्नुभएको छ । एक पटक ठन्डा दिमागले सोच्नुहोस् त । भविष्यको पुस्ताप्रति हाम्रो देशको भविष्य प्रति, लाखौं नेता, कार्यकर्ताको भविष्य प्रति । अब छाड्नुहोस् पार्टीमा अन्त्यहीन किचलो, अन्त्यहीन झगडा । तुष, कुण्ठा, स्वार्थ केन्द्रविन्दुमा म, मेरो समूह मेरो मान्छे यी सबै त्याग्नुहोस् । अब हिजो जस्तो नेतृत्वको अन्त्यहीन गनगन, कुर्सीका लागि कहिल्यै नसकिने झगडा यी सबै त्याग्दै हिजो भएका, गरिएका गल्तिको सबैले आ–आफ्नो ठाउँबाट म/म भन्दै आत्मआलोचित हुँदै देश, आन्दोलन र जनतालाई केन्द्र विन्दुमा राखेर एक पटक फेरि अध्यक्ष ओलीको नेतृत्वमा एमालेलाई त्यस्तै जनताको प्रिय, अत्यन्तै व्यवस्थित र लोभ लाग्दो संगठन बनाउन सबैले योगदान गरौं ।

होइन भने यो सुनौलो अवसर गुमाएमा पार्टी र आन्दोलनका लागि रात दिन नभनी जीवन हत्केलामा राखेर होमिएका र जीवन होम्न तयार नेता कार्यकर्ता, एमालेलाई आस्थाको पुञ्ज बनाएका शुभचिन्तक र समर्थकहरुको आँशुले पोल्नेछ । इतिहासले धिकार्नेछ । इतिहासमा कलंकको टीका लगाइदिनेछ । चौतर्फी हमला, नियोजित प्रहारका बीचमा अध्यक्ष एंव प्रधानमन्त्री ओली त २१ औं शताब्दीको अभिमन्यू बन्दै चक्रब्यूह तोडेर बाहिर आउनु हुने नै छ । एमाले पनि धुलो टकटकाएर फेरी उठ्ने नै छ । आन्दोलन केही पछि धकेलिएपनि फेरी विजय पथ लम्किनेछ । त्यसबेला तपाईहरुले पश्चताप गर्नुको विकल्प रहने छैन ।

‘देश आए’ दुरुस्त आए’ भने जस्तै अझै बिग्रि हालेको छैन । तपाईहरुको निष्कर्ष र मागप्रति सम्बोधन गरि प्रतिवद्धता व्यक्त गर्नुलाई अध्यक्ष ओलीको कमजोरी ठान्दै फेरि अनेक बखेडा झिकेर ‘हलो अड्काउने, गोरु कुट्ने’ जस्तै नगर्नुस् । नेता, कार्यकर्ता र जनताले बुझेका छन् । बाँदरले घाँउ कोट्याए जस्तो अतित कोट्याएर कहीँ पुगिदैन । अब विगत फर्किएर होइन भविष्यमूखी भएर हातेमालो गर्दै अघि बढ्नोस । फेरि पनि कहिले विष वृक्ष त कहिले कठपुतली भन्दै हमला गर्नेहरुको अहिले माया जालमा फस्दै पार्टी र आन्दोलनमाथि घात गर्ने कसम नै खानुभएको छ भने भन्नु के छ र ? भीरबाट लड्ने गाइलाई राम, राम । भन्ने बाहेक के नै भन्न सकिन्छ र ? अब आयाराम हुने कि विभिन्न शक्ति केन्द्रको रोडम्यापमा हिड्दै गयाराम हुने तपाईहरुकै हातमा छ ।