जनता टाइम्स

१ असार २०७८, मंगलवार ०७:१२

मेस्सीको गोलमा अर्जेन्टिनाको बराबरी


काठमाडौं, असार १ । कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।

ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा चिलीसँग १(१ गोलको बराबरीमा रोकिनु परेको हो ।

खेलको ३३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा छ ।