काठमाडौं, असार २९ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । निकै रोमाञ्चक खेलमा १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत बिपक्षी स्विट्जरल्यान्डको पोष्टको गोल छिराएका हुन् ।
स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डो रोड्रिगको असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काएका हुन । तर खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलमा झरेको थियो ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गर्न सफल भए । इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित निकाले ।
अर्जेन्टिना सातौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले फाइनलका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । तीन पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक नै उपविजेता बनेको छ । यसपटक सेमीफाइनलमा यी दुई राष्ट्रको प्रतिस्पर्धा निकै रोमाञ्चकारी हुने अपेक्षा खेलप्रेमीहरुको छ ।





















प्रतिक्रिया दिनुहोस्