जनता टाइम्स

१७ असार २०७८, बिहीबार १६:४९

लकडाउन पालना गराउन बंगलादेशमा सेना परिचालन, अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द


काठमाडौं, असार १७

बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । आजदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका साथै सेना पनि गस्तीमा निस्किनेछ ।

अहिलेसम्म बंगलादेशमा करिब नौ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १४ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । विशेषज्ञहरुले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै रहेको हुनसक्ने बताएका छन् । बंगलादेश सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द रहने जनाएको छ ।

राजधानी शहर ढाकाका प्रहरी प्रमुख साफिकल इस्लामले कुनै विशेष कारण विना बाहिर निस्किने व्यक्तिलाई जरिवाना हुने र पक्राउ पनि गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई एक दिनमा पाँच हजार मुद्दा दर्ता गर्न र उनीहरुलाई पक्राउ गर्नु परे पनि हामी तयार छौं ।’ कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि बंगलादेशले लकडाउन गरेको हो । छिमेकी देश भारतमा भेटिएको डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमण बढिरहेको बताइएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रका अस्पतालमा बिरामीको चापसमेत बढेको छ । केही गाउँमा भने संक्रमण फैलिने दर ७० प्रतिशतसम्म देखिएको छ । रोकिएको कोरोना खोप अभियान पनि आजैबाट सुरु भएको छ । बंगलादेशले आइतबारसम्ममा अमेरिकी कम्पनी मोडेर्नाको २५ लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ । बंगलादेशलाई ११ लाख डोज कोरोना खोप अनुदान दिइसकेको चीनले पुनः २० लाख खोप तत्काल पठाउने तयारी गरेको छ । एजेन्सी