काठमाडौं, साउन ४ । नेकपा एमालेकी सांसद नविना लामाले बरिष्ठ नेता माधवकुमारप्रति आक्रोश पोख्नुभएको छ । माधवले पार्टीको सरकार ढालेर बिपक्षी दलका नेतालाई बिश्वासको मत दिएपछि सामाजिक सञ्जालमै नविनाले आक्रोश पोख्नुभएको हो ।
लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न पनि गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज आफ्ना विचार सार्वजनिक गर्दै लामाले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै माधवको कारण युवाहरुको भविश्य नै बर्बाद भएको बताउनु भएको छ ।
लामाले जनताको बहुदलीय जनवाद (जवज) खोइ भन्दै प्रश्न पनि गर्नुभएको छ । ‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ । महान् नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ । अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ,’ लामाको भनाई छ ।
अहिले नेकपा एमाले भित्रको पनि गुटबन्दी बडो खतरनाक र कोभिड जस्तै नयाँ प्रकृतिको रहेको लामाको निचोड छ । आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीलाई सरकार बनाउनु यो भन्दा अर्को दुःखद घटना केही नहुने भन्दै लामाले लेख्नुभएको छ, ‘यो भन्दा दुःखद घटना के हुन सक्छ ? बर्बाद भयो । जबज खोइ ? हाम्रो पुस्ताको राजनीति ? हाम्रो पार्टीको राजनीति ? पार्टी एमाले, भोट अर्को अर्को पार्टी हो ?’
आइतबार प्रतिनिधि सभामा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्