जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार १३:१८

नेपालको आर्थिक विकासमा अब एनआएनएले सघाउँछ : उपाध्यक्ष डा. केसी


लन्डन, २३ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले नेपालको समृद्धिमा आर्थिक विकास आवश्यक भएको र त्यसका लागि एनआरएनएले नेपाल सरकारलाई सघाउने बताउनुभएको छ । एनआरएनएको १०औँ महाधिवेशनको तयारी र आफ्ना चुनावी एजेन्डाबारे कुरा गर्दै केसीले आफूहरु नेपाललाई आर्थिक, बौद्धिक तथा प्राविधिक रुपमा सघाउनका लागि तयार रहेको बताउनुभयो ।

केसीले एनआरएनले स्थापना गरेको कम्पनीमार्फत् केही समयभित्रै विदेशमा बस्ने १० लाख नेपालीलाई नेपालको अर्थतन्त्रसँग जोड्ने बताउनुभयो । ‘नेपालको आर्थिक विकासका लागि एक दुईजनाले मात्र लगानी गरेर हुँदैन,’ केसीले भन्नुभयो, ‘त्यसका लागि धेरैभन्दा धेरै सदस्यहरूले सक्दो लगानी गनुपर्छ ।’ एनआरएनएले १० अर्बको कम्पनी स्थापना गरिसकेको जनाउँदै डा. केसीले त्यसमा सदस्यहरूले एक अर्ब लगानी गरिसकेका जनाउनुभयो ।

उहाँकाअनुसार उक्त कम्पनीमा नेपाल सरकारले ५० करोड लगानी गरेको छ । बाँकी आठ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी विदेशमा बस्ने नेपालीहरूले छिट्टै आईपीओमार्फत गर्न सक्ने केसीले जनाउनुभयो । सन् २०११ मा संयुक्त लगानीको अवधारणासँगै एक हजार जनाको सहभागितामा सुरु भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

विदेशमा बस्ने नेपालीहरुबीच भाइचारको सम्बन्ध स्थापित गर्न, विदेशमा सिकेको सीप नेपाल भित्र्याउन र नेपालको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेर एनआरएनए स्थापना भएकाले त्यसका लागि आफू प्रतिवद्ध रहेको केसीको भनाइ छ । अध्ययनका लागि सन् १९९० मा रुस पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर २००१ मा सोही विषयमा विद्याबारिधि गरेका हुन् । हाल उहाँले रुस र युक्रेनमा उत्पादन तथा आयात–निर्यातसम्बन्धी व्यवसाय गर्दै आएका छन् । त्यसका साथै केसीले नेपाली चियालाई रुसलगायत देशमा लगेर ब्रान्डिङ गर्दै आएका छन् ।

डा. केसी निरन्तर १८ वर्षदेखि एनआरएनएमा आवद्ध छन् । सन् २००७ मा एनआरएन रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका केसी सन् २००९ देखि चार वर्ष केन्द्रिय सदस्य हुनुभएको थियो । सन् २०१३ मा कोषाध्यक्ष पदमा निर्वाचि केसी सन् २०१५ देखि दुई कार्यकाल महासचिव बन्नुभयो । एनआरएनएको पछिल्लो कार्यकालमा उपाध्यक्ष रहेका डा। केसी सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ ।