जनता टाइम्स

६ असार २०७६, शुक्रबार १४:४९

सेती नदीमा बेपत्ता युवा संघका नेता सिंहको शव फेला


डोटी, असार ६

जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ। आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयवासी खोजीमा लागेका थिए ।

शुक्रबार बिहान शिखर नगरपालिकामा–१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । ‘सालमुनी मन्दिर नजिक शव बगिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि हामीलाई खबर गरे,’ उहाँले भन्नुभयो, ‘हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ, मृतक सिंहका घरपरिवारसँग खबर गर्दैछौँ ।’

सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन ।