जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १४:३६

एमालेमा पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिव राख्न प्रस्ताव, उपमहासचिव पद खारेज


काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । आजबाट शुरु भएको विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको हो । यसअघि एमालेमा चार उपाध्यक्ष रहेको एमालेमा उपाध्यक्ष कति बनाउने भनेर व्यापक छलफल भएको थियो ।

शुरुमा अध्यक्ष केपी शर्मा ओलीले तीन जना उपाध्यक्ष राख्ने प्रस्ताव राख्नुभएको थियो । केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा तीन जना उपाध्यक्ष र सात सचिवको प्रस्ताव राख्नुभएको थियो । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।

त्यस्तै विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव छन् । त्यस्तै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा पाँच जना सचिव छन् । केन्द्रीय पदाधिकारी समेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ ।

प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ । त्यस्तै एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।