जनता टाइम्स

१२ असार २०७६, बिहीबार १५:५२

राजस्व चुहावट गरेको आरोपमा गुट्खा उद्योगस‍ंग साढे ८७ कराेड असुल गर्न मुद्दा दायर


काठमाडाैं, असार १२

राजस्व अनुसन्धन विभागले नक्कली स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योगलाई ८७ करोड ५५ लाख ७४ हजार विगो र जरिवाना साथै ३ महिना कैद माग गर्दै मुद्दा दायरा गरेको छ । विभागले असार ११ गते बारा जिल्ला आदलतमा मुद्दा दायर गरेको हो ।

विभागले सुर्तिजन्य गुट्खामा अन्तःशुल्क ऐन विपरित स्टिकर नलगाई वा कुनैमा नक्कली स्टिकर प्रयोग गरी वितरक तथा थोक विक्रेता समेतको मिलेमतोमा राजस्व चुहावट गरेको उल्लेख गरेको छ ।
उद्योगले २९ करोड १८ लाख ५८ हजार राजस्व चुहावट गरेको र सो को देब्बर सम्म जरिवाना ५८ करोड ३७ लाख १६ हजार गरी कुल ८७ करोड ५५ लाख ७४ हजार विगो र जरिवानाको दाबी गर्दै मुद्दा हालेको हो ।

लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादित पानकिङ्ग गुट्खा विक्री गर्नसाईन ट्रेडर्सबाट बालाजी मार्केटिङलाई विक्री गरेको 400 बोरा पानकिङ गुट्खा लोड भएको ना ३ ख ९९३३ नम्बरको ट्रक चेकजाँच गर्दा २४ हजार पाउचमा नियमानुसार अन्तःशुल्क टिकट टाँस नभएको अवस्थामा रहेको, ३ हजार ८ सय ६८ पाउचमा आन्तरिक राजस्व विभागको ७० एम एम फिल्टर चुरोटमा प्रयोग हुने अन्तःशुल्क टिकट टाँस भएको र बाँकी ४१३२ पाउचमा आन्तरिक राजस्व विभागको खैनी/गुट्खा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा बरामद भएको उल्लेख गरेको छ ।

विभागले अन्तःशुल्क टिकट टाँस गरी अन्तःशुल्क लाग्ने बस्तु विक्रि गर्नु पर्ने व्यवस्था गरेकोमा बरामद भएको मालबस्तुमध्ये २४ हजार पाउच पानकिङ गुट्खामा अन्तःशुल्क टिकट टाँस नभएको जनाएको छ ।