जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १०:५५

बाघ सर्वेक्षणका लागि निकुञ्जभित्रै ६० दिन बिताउँदै छन यी सर्वेक्षक : डर होइन, मनमा छ उत्सुकता


कुलप्रसाद काफ्ले, चितवन । गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा । कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्नुहुनछ । मोक्तान चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिने गर्नुभएको छ । वन्यजन्तुको बासस्थानमा पुगेर तिनको गणना गर्नु आफैमा जोखिम हो । तर, पनि यस्तो जोखिमपूर्ण कामबाट उहाँ कहिल्यै पछि हटनु भएको छैन । गत चैतमा गैँडा गणना गरेकी मोक्तान सोमबारदेखि बाघ सर्वेक्षणमा खटिँदै हुनुहुन्छ ।

राष्ट्रिय बाघ सर्वेक्षण २०२२ आइतबारदेखि सुरु भएको हो । आइतबार वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले औपचारिक रुपमा बाघ सर्वेक्षणको उद्घाटन गर्नुभएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर गर्ने बाघ सर्वेक्षणका लागि तीन वटा कम्प्लेक्स बनाइएको छ । नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा लोपोन्मूख सूचीमा सूचीकृत पाटेबाघ पाइन्छ । चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स छन् ।

चितवन–पर्सा कम्प्लेक्समा आइतबारदेखि बाघ सर्वेक्षण सुरु भए पनि मोक्तान सोमबारबाट फिल्डमा जाँदै हुनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जको गेम स्काउटमा कार्यरत मोक्तान निकुञ्जको आन्तरिक क्रियाकलापका रुपमा पनि बाघको अवस्थाको बारेमा सर्वेक्षण भइरहने बताउनु हुन्छ ।
सन् २०१८ मा भएको बाघ सर्वेक्षणमा पनि उनले ‘पार्ट टाइम’ सर्वेक्षण गरेकी थिइन् । अहिले पूरै दिन बाघ सर्वेक्षण गर्दै छिन् । पूरै दिन अर्थात् एउटा क्याम्पमा २० दिन बसेर उहाँले बाघको सर्वेक्षण गर्ने छिन् । तीन वटा क्याम्पमा बसेर सर्वेक्षण गर्नुपर्ने उहाँको जिम्मेवारी छ ।

चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा, बाँके बर्दियालाई चार वटा र शुक्लाफाँटा–लालझाडीलाई एक वटा ब्लकका विभाजन गरिएको छ । ब्लकलाई पनि दुई किमी लम्बाई र दुई किमी चौडाई भएका ग्रीडमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश ८९५, ८१४ र २६० वटा ग्रीड रहेका छन् । चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्र हेरी एक जोडी स्वचालित क्यामरा जडान गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिक खटिएका छन् ।

कौशिला चितवन निकुञ्जमा नौ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँको पहिलो क्याम्प नवलपरासीअन्तर्गत पर्ने थुन्सिमा परेको छ । क्याम्पमा उहाँसहित सात जना रहन्छन् । ‘हाम्रो मुख्य भूमिका क्यामरा ट्रयापिङ हो । हिँडेरै ठाउँठाउँमा पुगेर क्यामरा जडान गर्नुपर्छ,ु मोक्तान भन्नुहुनछ, ‘क्यामराको अनुगमनमा जाँदा दिनमै ४० किलोमिटर पनि हिँड्न पर्ने हुन सक्छ ।’

एउटा क्याम्पले २६ जोडी क्यामराको नियमित अनुगमन गर्नुपर्ने उहाँ बताउँनु हुन्छ । जिपिएसका माध्यमबाट सर्वेक्षकले क्यामरा जडान गरेका हुन्छन् । क्यामराको व्याट्री र मेमोरि कार्डको अवस्था हेर्न जाँदा सर्वेक्षकले जिपिएसकै माध्यमबाट क्यामरा राखेको स्थानको पहिचान गर्नुपर्छ । एउटा ग्रीडमा कम्तिमा १५ दिनसम्म क्यामरा राख्नुपर्छ । त्यसपछि सर्वेक्षक अर्को क्याम्पमा जानेछन् । कौशिलाको दोस्रो क्याम्प अमुवा पोष्ट नजिक छ । तेस्रो क्याम्प पर्साको भाटामा परेको उहाँले बताउनु भयो ।

‘एउटा क्याम्पबाट क्यामरा संकलन गरेर उठ्न २० दिन जति लाग्छ । यस हिसाबले तीन वटा क्याम्पमा हामीले ६० दिन बिताउँछौँ,ु उहाँले भन्नुभयो । सर्वेक्षण गर्दा ठाउँ अनुसार निकुञ्जको कोर इलाकादेखि सामुदायिक वनका क्षेत्रसम्ममा क्याम्प बनाएर बस्नुपर्ने पनि उहाँको भनाई छ ।

‘हाम्रो घर समुदाय भनेजस्तै जनावरको पनि जंगल घर नै हो । त्यो उनीहरुको बस्ती हो,ु उहाँले भन्नुभयो, ‘वन्यजन्तुको घरमा जाँदा चुनौति त भइहाल्छ । तर पनि यो ठूलो अवसर हो ।’ सन् २०१८ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा २३५ वटा पाटेबाघ छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा छन् ।

चितवन निकुञ्जका खेल स्काउट कृष्ण पौडेलले पहिलो पटक बाघ सर्वेक्षण गर्दै हुनुहुन्छ । निकुञ्जमा उहाँले जागिर गर्न थालेको चार वर्ष मात्रै भएको छ । ‘पहिलो अनुभव हो, एकदम उत्सुकता लागेको छ,’ उहाँले भन्नुभयो । पौडेलले पहिलो पटक तीन वटा क्याम्पमा बसेर बाघको सर्वेक्षण गर्ने छन् । बाघ प्राय गरी रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने गर्छ । पहिलो क्याम्प टाइगर टप्समा रहेको छ । त्यहाँ उहाँको टिमले कम्तिमा १५ दिन बिताउने छ ।

ठाउँ ठाउँमा जडान गरिएका क्यामरा संकलन गरी क्याम्प सार्न थप पाँच दिन लाग्छ सक्छ । त्यसपछि उहाँको अर्को क्याम्प बोटे सिमरामा पर्छ । तेस्रो क्याम्प चाँहि अमलेखगन्जमा परेको छ । क्याम्पमा बस्ने सात तीमध्ये एक जनाले खाना पकाउने काम गर्छन् भने बाँकी सर्वेक्षकले क्यामरा जडान र त्यसको नियमित अनुगमन गर्नुपर्छ ।

‘क्यामरा जडान गरिसकेपछि कम्तिमा १५ रात राख्नुपर्छ । त्यसपछि त्यसलाई सार्ने हो । त्यसो हुनाले एउटा क्याम्पसमा हामीले २० दिनसम्म बिताउन सक्छौँ,’ उनले भने । खानेकुराको बन्दोबस्त निकुञ्जले नै व्यवस्था गरिदिएको छ । एउटा क्याम्पमा बस्दा खानुपर्ने खानेकुरा र भाँडाकुडाको व्यवस्था निकुञ्जले गरिदिन्छ । अर्को क्याम्पमा सर्दा थप खानेकुरा लिएर जानुपर्ने उनी बताउँछन् । बिहान ८ देखि ९ बजेसम्म खाना खाइसकेर क्यामरा जडान गर्नुपर्ने स्थानमा जाने उहाँल् बताउनु भयो ।

‘हामीलाई जीपीएस प्वाइन्ट दिइएको हुन्छ । त्यो प्वाइन्टमा पुगेर क्यामरा राख्नुपर्छ । बाघको मुभमेन्ट भएको स्थानमा राख्ने हो । त्यसका लागि हामी दिनमा २० देखि २५ किमी हिँड्नुपर्छ,’ उहाँले भन्नुभयो । क्यामरा चार वर्ग किमीको फरकमा राखिन्छ । बाघको दुईतर्फकै पाटाको फोटो खिच्नुपर्ने भएकाले एक ठाउँमा जोडी क्यामरा राखिन्छ ।

सर्वेक्षक क्याम्पमा रातिको समयमा धुनी बालेर बस्छन् । पालो लगाएर कोहि सुत्ने र कोहि जागा बस्ने गर्नुपर्छ । सर्वेक्षणमा जानुअघि सर्वेक्षकलाई तीन दिनको व्यवहारिक अभ्यास सिकाइएको थियो । बाघ हिँड्ने बाटोबाट तीनदेखि चार मिटर पर दायाँबायाँ बुट्यानमा क्यामरा जडान गरिने छ । स्वचालित क्यामराले बाघ हिँडेको आवाज वा दृश्य परिवर्तनको आधारमा फोटो खिच्छ । एउटै बाघ धेरै पटकसम्म पनि क्यामरामा कैद हुन सक्छन् ।

बाघको पाटा पहिचान गरेर बाघको संख्या यकिन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँनु हुन्छ ।
‘बाघमा फरक फरक किसिमका पाटा हुन्छन् । बाघलाई चिन्ने उपयुक्त माध्यम नै उसको पाटा हो,ु उहाँले भन्नुभयो । बाघको शरीरमा पाटा हुने भएकाले त्यसलाई पाटे बाघ पनि भन्ने गरिन्छ ।