जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १०:२१

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २ सय ९२ रुपैयाँ लिने गरेको र सो रकमबाट नासु पोखरेललाई ८ हजार दिने गरेको भेटिएपछि आयोगले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । आयोगको अनुसन्धानमा घुस लिएको प्रमाणित भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ । नासु पोखरेललाई ८ हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यस्तै, अख्तियारले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।