जनता टाइम्स

१० माघ २०७८, सोमबार १५:५२

जुम्ला कारागारमा भेटघाट बन्द


जुम्ला, १० माघ । कोरोना संक्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो । कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएका हो ।

उहाँले भन्नुभयो, ‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तिमा १५ मिटर टाढाबाट मात्रै आफन्तहरूले भेटघाट र कुराकानी गर्न सक्ने छन् ।’ यस्तै स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुन समेत रोक लगाएको छ । उहाँले भन्नुभयो, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।’ अहिले कारगारामा १६ जना कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ ।

उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताउनुभयो । कैदीवन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो लहरका यहाँ १४ जना संक्रमति भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक जना महिलासहित एक सय १५ जना कैदीबन्दी छन् ।