जनता टाइम्स

१२ माघ २०७८, बुधबार १६:२९

कर्णालीमा ९८.९५ प्रतिशत मत खस्यो


सुर्खेत, १२ माघ । कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो । कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताउनुभयो। ‘स्थानीय तहअन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशसभा अन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गर्नुभएन भने कालिकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारण उपस्थित हुनुभएन ।