सुर्खेत, ८ फागुन । एमसीसी सम्झौता संसदमा पेश गरेको भन्दै कर्णालीका १० वटै जिल्ला कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले घेराउ गरेका छन् । विप्लव नेतृत्व नेकपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान, मोहन वैद्य नेतृत्व नेकपा (क्रान्तिकारी) लगायतका १० वटा राजनीतिक दलले कर्णालीका १० वटै जिल्ला कार्यालय घेराउ गरेका हुन् ।
सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताउनुभयो । ‘जनता विरोधी गतिविधि भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता नेपालीको हित विपरित भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।’
एमसीसी सम्झौताविरुद्धमा सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल निकट विद्यार्थी, युवा अन्य भातृ संगठनहरूले विभिन्न जिल्लामा विरोध जुलुश निकालेका छन् ।
सम्झौता देशको हित विपरित भएका कारणले सबै जिल्लामा विरोध प्रर्दशन गरिएको माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिनुभयो । ‘एमसीसी सम्झौता खारेज नभएसम्मका लागि सबै जिल्लामा आन्दोलनका कार्यक्रम राखिएको छ ।’ उहाँले भन्नुभयो, ‘पार्टी सरकारमा भए पनि हामी आन्दोलन जारी राख्छौं ।’













प्रतिक्रिया दिनुहोस्