सुर्खेत, २१ फागुन । सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो । व्यापारी हमालनेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए ।
त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ । नेपालगञ्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।
मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि आफूमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताउनुभयो । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो’ उहाँले भन्नुभयो । हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ ।
कालिकोटबाट आफन्त आउँदै गरेको जनाइएको छ । हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताउनुभयो । के कति कारणले मृत्यु भयो भन्ने बारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताउनुभयो । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उहाँले भन्नुभयो, ‘विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्नेछ ।’ हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्