जनता टाइम्स

३० चैत्र २०७८, बुधबार ०८:२२

गभर्नर छानविन समितिमा अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ता मात्रै


काठमाडौँ, चैत ३०। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ । अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्रीले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नरलाई निलम्बन गर्दै जाँचबुझ गर्न थालिएको छ ।

तर, समितिको संयोजकमा अर्थमन्त्रीका नजिकका नातेदार दाइलाई राखिएको छ ।अन्य दुई सदस्य पनि माओवादीकै कमिटीमा आबद्ध रहेको पुष्टि भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा छन् ।

अर्थमन्त्री शर्माका आफन्त तथा पार्टी कार्यकर्ताले रुकुमबाट दिएको जानकारीअनुसार मन्त्री शर्मा र पूर्वन्यायाधीश भण्डारी दिदीभाइका नातिहरू हुन् । ‘दिदी भद्रशिला भण्डारीका नाति पूर्वन्यायाधीश हुन् भने उनका कान्छा भाइका नाति मन्त्री शर्मा हुन्,’ एक आफन्तले भने ।

त्यसो त पूर्वन्यायाधीश भण्डारीले पनि आफूहरूको नाता पर्ने स्वीकार गरे तर मुद्दा हेर्न मिल्ने दाबी गरे । ‘टाढाको नाताले दाइ–भाइ पर्छौं । तर, मुद्दा हेर्न नमिल्ने गरी कानुनले निषेध गरेको तहको नाता होइन,’ उनले भने, ‘उसले (मन्त्री शर्माले) एक्लै निर्णय गरेको पनि होइन । मन्त्रिपरिषद्ले निर्णय गरेका कारणले ऊसँगको टाढाको नाताले केही फरक पार्छ जस्तो लाग्दैन ।’माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला भण्डारी सर्वोच्चका न्यायाधीश भएका हुन् ।

कानुनमन्त्रीका रूपमा माओवादी नेता अजयशंकर नायक न्यायपरिषद्मा रहेका बेला २०७३ फागुन १८ मा उनी उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका हुन् । सर्वोच्च पुगेलगत्तै २०७४ साउन १५ मा उनी विवादास्पद फैसलामा जोडिएका थिए । भण्डारी र अर्का न्यायाधीश ओमप्रकाश मिश्रसँगको इजलासले दिएको फैसलाले भरतपुर महानगरपालिकाको नतिजा माओवादीको पोल्टामा परेको विश्वास गरिन्छ । कान्तिपुर दैनिकबाट