बुटवल, १२ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहनुभएको उहाँले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेलले मेयर, उपमेयरलगायत सबै उम्मेदवारलाई शुभकामना दिनुभएको थियो ।
त्यसक्रममा उहाँले एमालेले सात सय ५३ स्थानीय तहमध्ये ६० प्रतिशतमा विजयी हासिल गर्ने दावी गर्नुभयो । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उहाँले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको जनाउनुभयो ।












प्रतिक्रिया दिनुहोस्