जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १३:०८

लुम्बिनीमा जसपा नेपालका सांसदले केन्द्रीय निर्णय नमान्ने, मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने


काठमाडौं, भदौ १। लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय निर्णय प्रदेशसभा सदस्यहरूले अस्वीकार गर्ने देखिएको छ। जसपा नेपालका प्रदेशसभा सदस्य भण्डारीलाल अहिर र आदेश अग्रवालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारी गर्नुभएको छ।

मुख्यमन्त्री आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएका बेला उहाँहरू सरकारको पक्षमा मतदान गर्ने तयारीसहित नेकपा एमालेको संसदीय कार्यालयमा पुग्नुभएको बुझिएको छ। उहाँहरूसहित सरकारको समर्थनमा रहेका दलका प्रदेशसभा सदस्यहरू एमालेको संसदीय कार्यालयमा भेला भएर सामूहिक रूपमा प्रदेशसभा बैठकमा जाने तयारीमा रहनुभएको छ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिलाउने उद्देश्यले नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रदेशसभा सदस्यहरू एमाले संसदीय कार्यालयमा भेला हुनुभएको हो। बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच आवश्यक समन्वय र सहमति भएको बताइएको छ।

सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको दाबी गरिएको छ। यसले विश्वासको मत लिनुअघि नै सरकारको पक्षमा राजनीतिक समीकरण बलियो बनेको संकेत गरेको छ।

यसअघि नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।

विश्वासको मतका लागि सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो। एमालेको संसदीय कार्यालयमा भएको छलफलमा प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्ने विषयमा सहभागी सांसदहरूबीच सहमति जुटेको बताइएको छ।

जसपा नेपालको केन्द्रीय तहबाट सरकारलाई समर्थन नगर्ने निर्णय भए पनि प्रदेशसभा सदस्य अहिर र अग्रवालले त्यसविपरीत सरकारलाई विश्वासको मत दिने तयारी गर्नुभएको घटनाले लुम्बिनीको सत्ता समीकरणमा थप राजनीतिक अर्थ राख्ने देखिएको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएमा कांग्रेसले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अन्योल तत्कालका लागि हट्नेछ भने प्रदेश सरकारलाई निरन्तरता दिने बाटो सहज बन्नेछ।