काठमाडौं, असोज ७ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ।
मुख्यमन्त्री आचार्यले अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताउनुभएको हो। उहाँले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न मुख्यमन्त्री आचार्यले अनुरोध गर्नुभएको छ।
धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको सुझाव छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभएको छ।
भारी वर्षाका समयमा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न उहाँले प्रदेशवासीलाई आग्रह गर्नुभएको छ। साथै, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति र संस्थालाई आवश्यक सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ।
सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सरकारको तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री आचार्यले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी अपनाई सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्