जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार १८:२३

तिज मान्न माइत हिडेकी महिलाको आफैले लगाएको दोपट्टा बेरिएर गयो ज्यान


दाङ, भदौ २७ । तीज मनाउन माइत हिडेकी एक महिलाको आफैले लगाएको दोपट्टा मोटरसाइकलमा बेरिएर मृत्यू भएको छ । भतिजाले चलाएको मोटरसाइकलमा माइत जाँने क्रममा दोपट्टा बेरिएर दुर्घटनामा परी ती महिलाको मृत्यु भएको हो ।

यसरी आफैले लगाएको दोपट्टा बेरिएर ज्यान गुमाउनेमा शान्तिनगर गाउँपालिका–१ पेदीखोला दाङकी ३५ बर्षीया जीता केसी रहनुभएको छ । तीज मनाउन सल्यानस्थित माइती घर जाँदै गर्दा केसीले लगाएको दोपट्टा आफैँ चढेको मोटरसाइकलमा बेरिएर दुर्घटना परेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ३ टाट्केस्थित भित्री कच्ची सडकमा भएको दुर्घटनामा परी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । केसी आफ्नै भतिजसँग रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार रहनुभएको थियो ।

मोटरसाइकल गुडिरहेको बेला सलवार–सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि चक्काले तानेपछि केसी मोटरसाइकलबाट सडकमा खख्नुभएको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल चालकले जानकारी नपाएकाले उनलाई केहीबेर सडकमा लतारेका कारण उनको अवस्था गम्भीर बनेको थियो ।

मृतक जीताका २ छोराछोरी छन् भने श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन । जिता भतिजा कृष्ण केसीले चलाएको मोटरसाइकलमा सवार हुनुहुन्थ्यो भने अर्काे मोटरसाइकलमा छोरी पनि साथमै गएको प्रहरीको भनाई छ ।