काठमाडौं, भदौ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशमा आज हुने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ। पार्टीले दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई मतदानमा सहभागी नहुन निर्देशन दिएको हो।
राप्रपाले बागमती र लुम्बिनी प्रदेशमा सरकार निर्माणसम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म तटस्थ रहने स्पष्ट पारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई निर्देशन पठाउँदै प्रदेशसभा सदस्यलाई सोहीअनुसार अघि बढाउन निर्देशन दिनुभएको हो।
पार्टीको निर्णयअनुसार प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई समेत निर्देशन दिइएको छ। यससँगै आज हुने मुख्यमन्त्रीको विश्वासको मत परीक्षणमा राप्रपाका सांसद निर्णायक भूमिकामा रहने सम्भावना बढेको छ।
बागमती प्रदेशसभामा राप्रपाका १२ जना सांसद हुनुहुन्छ भने लुम्बिनी प्रदेशसभामा चार जना सांसद हुनुहुन्छ। राप्रपाले विश्वासको मत नदिने निर्णय गरेपछि विशेषगरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले विश्वासकाे मत नपाउने निश्चित भएकाे छ ।
बागमतीमा राप्रपा, नेमकिपा र हानेपाकाे मत सरकारको पक्षमा नजाँदा नेपाली कांग्रेबा६ मुख्यमन्त्री बन्नुभएका बानियाँले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउन सक्नु हुन्न । वाग्मतीमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्।
लुम्बिनीमा पनि राप्रपाका चार सांसदले मतदानमा तटस्थ रहने भएपछि मुख्यमन्त्रीले विश्वासको मत जुटाउन अन्य दल तथा सांसदको समर्थन सुनिश्चित गर्नुपर्ने भएको छ।
राप्रपाले भने तत्काल कुनै पक्षमा उभिनुभन्दा प्रदेश सरकार निर्माणसम्बन्धी विषयमा पार्टीको आगामी निर्णयलाई आधार बनाएर अघि बढ्ने नीति लिएको जनाएको छ। यस निर्णयले दुवै प्रदेशमा सरकार गठन तथा सत्ता समीकरणलाई थप पेचिलो बनाउने देखिएको छ।














प्रतिक्रिया दिनुहोस्