जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०४:५७

मैले पार्टी किन छोडें ?


साथीहरू, गणेशमान सिंह र किसुनजीजस्ता नेताहरू त अटाउन नसकेको पार्टीमा म जस्तो बबुरो कार्यकर्ता अटाउनसक्ने त कुरै भएन । म आफ्नो निष्ठा बेच्न सक्दिनथें, आफ्नो इमान बन्धक राख्न सक्दिनथें अनि फट्याइँ र चाकरी गर्न सक्दिनथें । मलाई थाहा भयो कि यी कुराहरु गर्न र सम्झौता गर्न नसक्ने कुनै पनि व्यक्ति नेपाली कांग्रेसमा बस्न सक्दैनन् ।

हरि लम्साल

स्थानीय निर्वाचन २०७९ को पूर्वसध्यामा मैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण पदबाट राजीनामा गरें । किन गरें, के कारणले गरें, र त्यो अवस्था कसरी आयो ? यसको विश्लेषण र यथार्थता मेरा साथी र शुभचिन्तक अनि नेताज्यूहरुले पछि थाहा पाउनु हुनेछ ।
वर्तमान अवस्थामा पार्टीका नेता तथा साथीहरुले बुझ्नुपर्ने कुरा के हो भने, बीपीको भनाइ कोड गर्दै भन्न मन लागेको छ, ‘पार्टीभित्र अन्याय सहने जो कोही होस् त्यो कार्यकर्ता हैन, दास हो’ । म एउटा पार्टीको इमान्दार, निष्ठावान कार्यकर्ता थिएँ । आफ्नो भएको सम्पति खर्चेर पार्टी बचाउन लागेको थिएँ । पार्टीको नाममा एक रुपैयाँ चन्दा मागेर जीवन निर्वाह गरेको थिइन् ।

फट्याइँ, बेइमानी र चाकडी गर्ने मेरो स्वभाव र स्वाभिमानले दिएन । मैले बुझेको बीपीको सिद्धान्त र आदर्श, उहाँले गरेको मार्गनिर्देश, अनि उहाँको व्यवहारिक समाजवाद नै म नेपाली कांग्रेसप्रति आबद्ध हुने मन्त्र थिए । मैले बीपीलाई चिन्दै नचिन्दा पनि उहाँका आदर्श र सिद्धान्त अध्ययन गरें, त्यसैबाट प्रभावित भएर कांगेस भएको हुँ ।

२०४३ सालमा नेपाली कांग्रेसले आउटपोष्ट कब्जा गर्ने नीति लिएर आन्तरिक रूपमा देशभरका स्थानीय निकायमा कांग्रेस सम्बद्ध व्यक्तिहरुलाई निर्वाचनमा भाग लिन आह्वान गर्यो । त्यो अवस्थामा समेत कांग्रेसको प्रतिनिधित्व गर्दै स्याङ्जा सदरमुकामको तत्कालीन वाडा नं. ३ र हाल वाडा नं. १ को वडाअध्यक्षमा उम्मेदवारी दिएर अत्यधिक मतले विजयी भएको थिएँ । त्यसपश्चात् २०४६ सालको जनआन्दोलनको उद्घोष भएलगतै उक्त जनआन्दोलनमा सहभागी हुने भन्दै वाडा अध्यक्ष पदबाट राजीनामा गरेर बुटवल झरेको हुँ । त्यसपछि बुटवलमा व्यवसाय र पत्रकारितालाई अगाडि बढाउँदै गइरहेको अवस्थामा व्यवसायभन्दा पत्रकारितालाई मुख्य पेशा बनाइ अगाडि बढ्ने प्रण गरेर पत्रकारितालाई नै प्राथमिकता दिएँ ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उहाँका स्व. प्रेस सल्लाहकार रहनुभएका जेपी गुप्ता (जयप्रकाश आनन्द)ले फोन गरेर हामी प्रजातन्त्रवादी पत्रकारहरुको छुट्टै संस्था निर्माण गर्न पर्यो काठमाडौं आउनुस् र छलफल गरांै भन्नुभयो । म गएँ तर यो मोफसलमा बस्ने मान्छे बैठकहरुमा पनि आउन गाह्रो हुन्छ, म कमिटीमा बस्दिनँ, पछि हेरौला भनें र संस्थापक सदस्य भइनँ । त्यसपछि केन्द्रीय सदस्य, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष भएर पार्टीको लाइनप्रति बफादार रूपमा काम गर्दै गएँ ।

विश्वास गरेरै होला २०४९ सालको बुटवल नगरपालिकाको निर्वाचनमा विजयी भैसकेपछि मेरा अत्यन्तै आदरणीय र सम्मानित व्यक्तित्व सूर्यप्रसाद प्रधानले तपाईँ मेरो सल्लाहकार भैदिन पर्यो भनेर आग्रह गर्नुभयो । त्यसो भए पत्रकार हुँ हजुरको प्रेस सल्लाहकार भएर बस्छु भने र तुरुन्त नियुक्ति पनि दिनुभयो । त्यो कार्यकाल इमान्दार र निष्ठापूर्वक विताएको मेरो परीक्षामा सायद पास भएको छु । त्यसपछिको संसदीय निर्वाचनमा विजय भैसकेपछि फेरि उहाँले मलाई तपाईँ मेरो स्वकीय सचिव बस्दिन पर्यो भन्नुभयो । मैले उहाँको आग्रह अस्वीकार गर्न सकिनँ ।

किनकि उहाँ म जस्तै सरल, इमान्दार र सोझो व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वकीय सचिव हुँदाको पीडा केही मेरा नजिकका साथीहरुलाई थाहा होला कि, मलाई नै थाहा छ । २०५६ सालमा सांसदको स्वकीय सचिवको तलब ४ हजार थियो । जबकि म बस्ने होटलको कोठाको दिनको ३ सयका दरले मासिक ९ हजार तिर्नु पर्दथ्यो । अनि विहान बेलुकाको खाना र नास्ता खर्च पनि आफैंले तिनुपर्दथ्यो । त्यस्तो अवस्थामा पनि बेइमान फटाहाहरूले सोझो मान्छेलाई बिगार्नसक्ने ठानेर आफ्नो फोकटो बेचेर पनि काम गरेको र कहिल्यै पद, प्रतिष्ठाको लोभ नगरेको कुरा आज लेख्न बाध्य भएको छु ।

अहिले बुटवलमा मेराविरुद्ध फैलाइएको भ्रम

साथीहरू जानकार हुनुपर्छ भन्ने मलाई लागेको छ । टिकट नपाएर पार्टी छोड्यो भन्ने कुरालाई केही घटिया, फुटपाथे व्यक्तिहरुले आफ्नो सामाजिक संजालमा लेखेको मैले पनि पढ्ने मौका पाएँ । तिनीहरूलाई के थाहा, पार्टी भनेको के हो ? पार्टी कसरी चल्छ ? पार्टी र कार्यकर्ताको मर्म र भावना के हो ? पार्टीको विधान पद्धति र प्रक्रिया के हो ?

विचरा, कहिलेकाँही दया लागेर आउँछ त्यस्ता मान्छेसंग जसले माथिका कुरासंग कुनै सरोकार र जिम्मेवारी सम्झदैनन्, र आक्रोश पनि हुन्छ पार्टी नेतृत्वप्रति । जो जतिबेला पनि कांग्रेसको क्रियाशील सदस्य बन्न विधान नै संशोधन गर्यो । प्रश्न गर्न चाहन्छु पार्टीको नेतृत्वप्रति– के यही रमिताले कांग्रेसले आफ्नो गन्तव्य र बीपीले कल्पना गरेको देश बन्नसक्छ ?

मैले पार्टी किन छोडें ?

अघि नै उल्लेख गरिसकें कि म स्याङ्जामा जन्मेको, हुर्केको, वडा अध्यक्षसम्म भएको र २०४५–४६ को जनआन्दोलनलाई साथ दिँदै बुटवल झरेको । अरू कुरा माथि नै लेखिसकें ।

२०७४ सालको स्थानीय निर्वाचनको बेला म नेपाली कांग्रेसको क्षेत्र नं. ४ को सभापति निर्वाचित भएको थिएँ । त्यतिबेलाको हाम्रो नेपाली कांग्रेसको विधानअनुसार क्षेत्रीय समितिले मेयर र उपमेयर सिफारिस गर्ने व्यवस्था गरेको थियो । त्यो बेला आज नगर समितिले जस्तै निरंकुश र अप्रजातान्त्रिक अनि अवैधानिक तरिकाले सिफारिस गर्न खोजेको भए मैले मेरो एकल नाम सिफारिस गर्न सक्थें र टिकट पनि मैले ल्याउन सक्थें तर म एउटा निष्ठावान, प्रजातान्त्रिक र संवैधानिक हिसाबले चल्नुपर्छ भन्ने सोच भएको व्यक्तिले त्यो हरकत र अपराध गर्न सकिनँ ।

मेयर–उपमेयर सबैका आकांक्षीहरुको आह्वान गरेर नाम मागियो । मेयरमा मात्र १३ जना साथीहरूले नाम टिपाउनु भयो र सोहीअनुसार १३ जनाकै सिफारिस गरी पठाएको इतिहास साक्षी छ ।

अहिले….. ?

अहिले के भयो । यो कुरामा अधिकांश साथीहरू भ्रममा हुनुहुन्छ । विधानले के भन्छ–

अहिलेको विधानले नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस नगर वा उपमहानगर समितिले गर्छ । त्यसो गर्दा कम्तिमा एक महिलासहित ३ जनाको सिफारिस गनुपर्नेछ । त्यो सिफारिस गरेको निर्णयसहित जानकारी प्रदेशसभा र सम्बन्धित क्षेत्रीय समितिमा दिनु पर्दछ ।

त्यसको विपरीत बुटवल उपमहानगर समितिको बैठकका नाममा घर–घरमा माइन्यूट डुलाएर सही गराउँदै नगर सभापतिको एकल सिफारिस भन्ने निर्णय भएछ र सो निर्णय हतार हतारमा जिल्ला समितिमा बुझाउन र जिल्ला समितिले पनि विधानत रीत नपुगेको अवैधानिक निर्णयलाई स्वीकार गरी आफ्नो रायसहित लुम्बिनी प्रदेश समितिमा सिफारिस गर्ने तयारीमा रहेछ ।

त्यस निरंकुश एवं अप्रजातान्त्रिक कार्यको विरोध स्वरूप प्रदेश लुम्बिनी प्रदेश कार्यसमितिमा ध्यानाकर्षण पत्र बुझाई विरोध जनाइयो, साथै जिल्ला एवं केन्द्रीय नेतृत्वलाई समेत त्यो ज्यादतीको विरुद्धमा मौखिक जानकारी गर्दासमेत कुनै सुनावाइ भएन । जबकि सिफारिसको क्रममा अन्य नगरपालिकाहरुले इच्छुक सबैको नाम सिफारिस गरेर पठाएका थिए ।

टिकट नपाएर पार्टी छोड्यो भन्ने अबुझ मुर्खहरूलाई भन्नैपर्ने भयो कि, टिकट दिने निकाय अर्कै छ । सिफारिस गर्ने प्रारम्भिक निकायले नै गुपचुप कसैलाई थाहा नदिइ गरेको निर्णय मान्न कमसेकम म जस्तो स्वाभिमानी मान्छेलाई सैह्य भएन । नेका एवं सम्बन्धित निकायले पनि कुनै चासो नदिएपछि मेरो आत्मस्वाभिमानमा ठेस लाग्यो ।

अनि म अन्तिम निष्कर्षमा पुगें कि यो राजनीति भन्ने चिज मेरो सामथ्र्यको कुरा रहेनछ । इमान्दारिता र निष्ठाको वर्तमान अवस्थामा कुनै मूल्य र मान्यता रहेनछ । यो राजनीति गर्ने भनेको त वेइमान, फटाहा, अवसरवादी र भुइँफुट्टाले रहेछ, त्यो मेरो बसमा छैन भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको हुँ ।

यसक्रममा मलाई मेरो राजनीतिक यात्रमा साथ सहयोग र शुभेच्छा राखेर १४ आंै महाधिवेशनमा अत्याधिक मतले विजयी गराउनुभएका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति शिर निउराउँदै मेरो यो अप्रत्यासित निर्णयप्रति क्षमा दिनुहुनेछ भन्ने आशाका साथ अन्तरहृदयले नै माफी माग्न चाहन्छु । आगामी दिनमा राजनीतिकबाहेक अन्य काममा हरहमेसा हजुरहरूकै साथमा रहने प्रतिबद्धता पनि म बबुरोले गर्दछु । साथीहरू, गणेशमान सिंह र किसुनजीजस्ता नेताहरू त अटाउन नसकेको पार्टीमा म जस्तो बबुरो कार्यकर्ता अटाउनसक्ने त कुरै भएन । म आफ्नो निष्ठा बेच्न सक्दिनथें, आफ्नो इमान बन्धक राख्न सक्दिनथें अनि फट्याइँ र चाकरी गर्न सक्दिनथें । मलाई थाहा भयो कि यी कुराहरु गर्न र सम्झौता गर्न नसक्ने कुनै पनि व्यक्ति नेपाली कांग्रेसमा बस्न सक्दैनन् ।

मैले राजीनामा दिएपछि सयौं मेरा मित्रहरू र शुभचिन्तकहरु मेरो घरमै आएर अथवा टेलिफोन गरेर फिर्ता लिन र पार्टीमा रहिरहन आग्रह गर्न थाल्नुभयो । मैले माथि सबै कुरा लेखिसकें, राजीनामा फिर्ता गर्न अथवा कुनै पदको बार्गेनिङ गर्नको लागि दिएको थिइनँ । त्यो दौरानमा साथीहरूको त्यो आग्रह र मेरो निर्णयमा मेल नखाँदा अत्यन्तै तनाव भयो र भोलिपल्ट ४ बजे बिहाने उठेर काठमाडौतिर हिँडें ।

मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहीन भएर केही दिन बिताएँ । अब तनाव केही शान्त भएको छ । साथीहरूको राजीनामा फिर्ता लिनुपर्ने आग्रह त यथावत नै छ । तर मैले भोगेको पीडा र अपमानले मलाई थिचिरहेको छ । साथी एवं शुभचिन्तकहरुलाई फेरि पनि भन्न चाहन्छु । यो फोहोरी एवं गन्धा राजनीतिको भुमरी, भित्र घुम्दाघुग्दै थाकिसकें, मैले हात उठाएँ, माफ पाउँ ।

यही दौरानमा ममाथि अर्को एउटा नभएको आरोप पनि लगाइएको थाहा पाएँ । वाडाहरूमा गठबन्धनको निर्णय मैले गरेर गएको भन्ने हल्ला चलाइएको पाएँ । त्यो हल्ला चलाउने अपराधी जोसुकै किन नहोस् म चुनौती दिन चाहन्छु । गठबन्धनको कुनै पनि निर्णयमा मेरो उपस्थिति र मैले गरेको सही सार्वजनिक गरियोस् । त्यो अवस्थामा म जे सजायँ पनि भोग्न तयार छु ।

पाँच दलीय केन्द्रीय गठबन्धनले निर्णय गरेअनुसार जिल्लामा गठबन्धन गर्न जिल्ला स्तरीय गठबन्धन र पालिकामा गठबन्धन गर्न नगरस्तरीय गठबन्धनलाई निर्देशन र अधिकार दिएको छ । प्रदेशसभा र क्षेत्रीय समितिलाई गठबन्धन गर्नेसम्बन्धी कुनै पनि अधिकार र क्षेत्राधिकार नभएको ठाउँमा म क्षेत्रीय सभापतिको हैसियतले कोही कसैसँग सम्झौता र सहमति गर्ने प्रश्न नै उठ्दैन । नगर संयन्त्रको संयोजक स्वयं सभापति हुने र उनीहरुकै निर्णय र सहमतिअनुसार अहिलेको गठबन्धन भएको हो । कोही साथीहरू भ्रममा नपरौं ।

अन्त्यमा,

मेरा केही सहयात्री मित्रहरू जसलाई मैले राम्रोसंग चिनेको छु, जानेको छु । उहाँहरूको निम्ति म राजनीतिमा घाँडो भएको रहेछु । मेरो राजनीतिक जीवन सिध्याउन दिलोज्यान दिएर लाग्नुभयो, तपाईँहरूको इच्छा आकांक्षा पूरा भयो । तपाईँहरुलाई बधाई छ । तपाईँहरूको राजनीतिक जीवनले सफलता चुम्दै जाओस् । कोही मेयर, कोही प्रदेशसभा, सांसद र मन्त्री अनि कोही प्रतिनिधिसभाको सांसद र मन्त्री भएको चांँडै देख्न पाउँ । म बबुरोको यही कामना छ । अस्तु ।