जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १६:२०

रुपन्देहीको देवदह नगरपालिकाको मेयर–उपमेयर दुवै पदमा एमालेको जीत


बुटवल, जेठ ४ । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जीत हासिल गरेको छ । नगर प्रमुखमा एमाले नेता ध्रुव खरेल निर्वाचित हुनुभएको हो ।

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बन्नुभएका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभयो । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाउनु भएको छ ।

पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहनुभएका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनुभएको छ । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्नुभयो । कुल ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत मात्रै पाउनु भएको छ ।