जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ११:२१

तुलसीपुर उपमहानगरमा काँग्रेसको कोर एरियामा मतगणना हुँदा पनि एमालेनै अगाडि


दाङ, जेठ ७ । तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । २७ हजार ८३ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्का एक सय ८३ मतले अगाडि हुनुहुन्छ । एमालेका खड्का ११ हजार २ सय ५६ मतका साथ अगाडि हुनुहुन्छ भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ७३ मतका साथ एमालेलाई पछ्याइ रहनुभएको छ ।

उपमेयरमा भने एमालेकी स्यानी चौधरी फराकिलो मतले अग्रता लिनुभएको छ । एमालेकी चौधरीले १० हजार ५ सय ४२ मतका साथ अग्रता लिँदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एसका जोगबहादुर रानाले ८ हजार ५ सय २६ मत ल्याउनु भएको छ । राना भन्दा चौधरी दुई हजार १६ मतले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म नेपाली काँग्रेसको पकड एरिया भनेर चिनिने वडामा मतगणना भइरहेको छ । हालसम्म गणना सकिएका ६ वटा वडा मध्य २,३ र ६ नम्बर वडामा एमाले प्यानलसहित विजयी भएको छ भने भने १ र ४ नम्बर वडामा गठबन्धनका तर्फबाट माओवादीको प्यानल नै विजयी भएको छ । वडा नम्बर ५ मा नेपाली काँग्रेसले वडा अध्यक्षसहित अरू दुईवटा सदस्य जितेको छ भने एमाले दुईवटा सदस्य जितेको छ ।

अहिले ७, ८, ९ नम्बर वडामा मतगणना भइरहेको छ । वडा नम्बर ७ मा गठबन्धनको प्यानलले अग्रता लिइरहेको छ भने वडा नम्बर ८ र ९ मा एमालेको प्यालन अगाडि छ ।