जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १७:२४

२२ बर्षपछि बुटवलमा एमाले बिरासत ढल्यो, गठबन्धनवाट कांग्रेसका खेलराज बिजयी


बुटवल, जेठ ७ । बिगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक काँग्रेसले आफ्नो कब्जा जमाएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी बन्नुभएको छ । उपप्रमुखमा भने एमालेकी सावित्रादेवी अर्याल निर्वाचित हुनुभएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जित्नुभएको हो । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभएको हो । पाण्डेले ३० हजार १३० मत प्राप्त गर्दा एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याउनु भएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एसका चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याउनु भयो । पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले दुई दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको हो । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बन्नुभएको थियो । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित हुनुभएको थियो । मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बन्नुभयो । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित हुनुभएको थियो ।

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित हुनुभएको थियो ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित हुनुभएको थियो । पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी हुनुभएको थियो ।

उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो । तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ ।