जनता टाइम्स

३० असार २०७६, सोमबार १०:४७

भारतीय आलुमा अत्याधिक विषादी


बुटवल, असार ३०

भारतबाट आयात गरिएका आलुमा खानै नमिल्ने विषादी भेटिएको छ । बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइमा परीक्षण गरिएको आलुमा खानै नमिल्ने विषादी भेटिएको हो।

तीन महिनादेखि बन्द रहेको प्रयोगशाला मंगलबारबाट पुन सुचारु भएपछि आलुको विषादी परिक्षण गरिएको थियो । प्रयोगशालाबाट भारतबाट आएका ५६ उपज दुई दिनमा परीक्षण गरिएको थियो। भन्सारको सिफारिसमा परीक्षण गरिएका आलुमध्ये दुईवटा ट्रकका आलुका नमुनामा विषादी भेटिएको हो।

भारतबाट ल्याउन खोजिएका आलुका दुवै नमुनामा ३६ देखि ४५ रुकावट प्रतिशत देखिएको हो। ‘रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने खान योग्य हुन्छ। ३६ देखि ४५ प्रतिशत भयो भने दुई÷तीन दिन पर्खेर फेरि परीक्षण गर्नुपर्ने हुन्छ’, प्रयोगशाला प्रमुख रामबहादुर खत्रीले भन्नुभयो । प्रयोगशालामा अहिले धेरैजसो आलु प्याजको नमुना आइरहेको खत्रीले बताउनु भयो ।