जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०८:४४

वार्षिक एक अर्ब रुपैयाँ ब्याज तिनुपर्ने भएपछि सम्पत्ति बेचेर ऋण तिर्दै इच्छाराज तामाङ


काठमाडौं, साउन ३

घरजग्गा व्यावसायी इच्छाराज तामाङले आर्थिक संकट टार्न सम्पत्ति बिक्री गर्न थालेका छन्। चरम आर्थिक संकटमा रहेका तामाङले ‘प्राइम लोकेसन’ मा रहेका आफ्ना सम्पत्ति बिक्री गर्न थालेका हुन्।

विगतमा घरजग्गामा मन्दी आएसँगै उनी पछिल्लो समयमा चरम आर्थिक संकटमा छन्। आर्थिक संकट टार्न उनले पछिल्लो समय सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्स बिक्री गरेका हुन्। तामाङले उक्त सम्पत्ति १ अर्ब ३० करोड रुपैयाँमा व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरेका छन्।

अपार्टमेन्ट बिक्री हुन नसकेपछि सिभिल ग्रुपले होटल बनाउने तयारी गरेको थियो। तर, होटलमा थप लगानी गर्न नसकेपछि तामाङले सस्तो मूल्यमै जेडीए कम्प्लेक्स बिक्री गरेका हुन्। कम्प्लेक्स रहेको ६ रोपनी जग्गामा १२ तलाको अपार्टमेन्ट छ।

तामाङले श्रीमती सिर्जना शाक्यसँग कागजीरूपमा सम्बन्ध बिच्छेद गरेर केही दिनअघि सिभिल बैंकको १७ लाखभन्दा बढीको संस्थापक सेयर बिक्री गरेका थिए। १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँका दरले संस्थापक सेयर बिक्री गरिएको थियो। यस्तै उनले कीर्तिपुरमा रहेको २ रोपनी जग्गासमेत बिक्री गरेका छन्। तामाङ निकट स्रोतका अनुसार उनको करिब २७ अर्बको सम्पत्ति छ। उनलाई संकट टार्न धेरै सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था छ।

उनका निकटका अनुसार तामाङ संकट टार्न अझै सम्पत्ति बिक्री गर्ने तयारीमा छन्। ‘केही समयभित्र अरु सम्पत्ति बिक्री गरेर छिट्टै आर्थिक संकटबाट उम्किन खोजिरहेका छन्’, स्रोतले भन्यो। पहिलो चरणमा सिभिल सहकारीको ऋण तिर्ने योजना रहेको अन्नपूर्ण पोष्टमा तुलसी सुवेदीले लेखेको समाचार उल्लेख छ।

तामाङले सिभिल ग्रुपद्वारा प्रवद्र्वित सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट आफ्ना तीन कम्पनीका लागि सात अर्ब ४३ करोड ऋण लिएका छन्। ऋण तिर्न नसकेका कारण सहकारी उच्च जोखिममा छ। सहकारीमा दुई हजार ६ सय ९० सदस्य सदस्य छन्। सहकारीको आव २०७४\७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरिएको छ।

घरजग्गामा मन्दी आएसँगै उनले पछिल्ला दुई वर्षयता वार्षिक एक अर्ब रुपैयाँ ब्याज मात्रै तिरेको सिभिल होम्सको लेखा परीक्षण प्रतिवेदनले देखाउँछ। यी तीन कम्पनीका लागि लिइएको ऋण सहकारीको कुल लगानीको ९१ प्रतिशत हुन आउँछ। तामाङले सम्पत्ति बिक्री गरेर सहकारीको ऋण तिर्न थालेका छन्। ऋण भुक्तानी हुन थालेसँगै समस्यामा रहेको सहकारी सञ्चालनमा सहजता आउन थालेको छ। केही समयअघि सहकारीले निक्षेप फिर्ता गर्न नसकेपछि सहकारी आंशिक बन्दसमेत भएको थियो।