जनता टाइम्स

२३ असार २०७९, बिहीबार १३:५९

बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर


सुर्खेत, २३ असार । बाजुराको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

‘केहीबेर विवाद भयो,’ अधिकारीले भन्नुभयो, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ ।’ अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको छ ।

एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले बताउनुभयो । ३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा गरेको भन्दै मतगणना स्थगित गरेर पुनः आज निर्वाचन गरिएको हो ।