जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार १७:३०

उद्योग बाणिज्य संघ काठमाडौंले भन्यो : बालेनले व्यवसायीलाई आतंकित बनाए, क्षतीपूर्ति चाहिन्छ


काठमाडौं, भदौ ९ । काठमाडौंका उद्योगी ब्यवसायीहरु काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बिरुद्ध उत्रिएका छन । काठमाडौंमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघको आकस्मिक बैठक बसेर कामनपाको कदमको निन्दा गरेको छ ।

आज बसेको वाणिज्य संघ काठमाडौंको बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णयसमेत गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित पारेको बताउनु भयो ।

‘व्यवसायीहरू बालेनलाई नै भेटेर क्षतिपूर्ति माग्ने निर्णय भएको श्रेष्ठको भनाई छ । ३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको आरोप पनि व्यवसायीले लगाएका छन । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिनुभएको छ । ब्यवसायीहरुले मेयर शाहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै बिरोधमा उत्रिएका हुन । केही दिनयता मेयर शाह अबैध संरचना भत्काउन आफै डोजर लिएर पुग्ने गर्नुभएको छ ।