सुर्खेत, १८ भदौ । जाजरकोट नलगाड नगरपालिका–४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन् । निदाएको बेला घरमाथिको पहिरो खसेर बगाउने पो हो की भनेर जाग्रामै रात कटाउँछन् । उहाँले भन्नुभयो,‘मेरो घर मात्रै होइन बस्ती नै पहिरोको जोखिममा छ ।’ बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो ।
पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताउनुभयो । कालीमाटी–सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा परेको गौतमको भनाइ छ । पहिरो रोकथाम तथा नियन्त्रण समयमै नगरिए ठुलो क्षति पुग्ने उनीहरूको भनाइ छ ।
पहिरो रोकथाम तथा नियन्त्रणमा कतैबाट पनि पहल हुन नसकेको पिपल चौरका राजेन्द्र रावलले बताउनुभयो । यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा रहेको उहाँको भनाइ छ । पहिरोले गर्दा यहाँका मान्छे निकै त्रासमा छन् ।
वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घरजग्गा निकै जोखिम रहेको बताउनुभयो । यो सबै जथाभावी सडक निर्माणका कारण भएको अध्यक्ष पन्तको भनाइ छ । नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताउनुभयो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्