जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १२:११

कृतघ्नहरुको लर्को र ओली लहर


फलामले फलाम काटे झैं ओली लहरले मात्र मोदी लहरलाई टक्कर दिन सकेको छ । एक हिसाबले आजको दक्षिण एशिया दुई चाणक्य– ओली र मोदी बीचको शस्त्रवल र शास्त्रवल बीचको टक्कर हो 

दयालबहादुर शाही

‘कम्युनिष्ट पार्टी, यसका नेता र कार्यकर्ताहरु जनताको परीक्षणको विषय हुनुपर्छ ।’ जननेता मदन भण्डारी उत्कर्षकालको कांग्रेस लहर, उत्कर्षकालको माओवादी लहर र उत्कर्षकालको भाजपा र मोदी लहरका सामु नेपाल र भारतका प्रायः सबै दलहरु सोतर बने तर नेकपा (एमाले) मात्र हिमालयझै उभिन सक्यो । यसको मूल कारण जनतालाई सबथोक ठान्ने जनताको बहुदलीय जनवादी चेत हो ।

मदन भण्डारीको जोडबल पार्टीपंत्तिलाई उदासिनता र उन्मादको दोहोरा खतराबाट बचेर उत्साहका साथ देश र जनताको पक्षमा उभ्याउनमा रह्यो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने नेपाल आमाका असल सन्तानहरु उत्पादन गर्ने विश्वविद्यालयका रुपमा एमालेले जनसमुदाय र विश्वसमुदायको मन जित्नमा र मानसम्मान पाउनमा एमालेजनको मती, गति र सरस्वतीको लामो सिलसिलाले काम गरेको छ ।

कुनै बेला गोमन सर्प जसरी फणा उठाउन र ठुँग्नमा निपूर्ण कांग्रेस र माओवादी आजको एमालेका लागि सजिलै कुल्चिन सकिने फगत काँचुली मात्र हुन् । आज नेपाल र नेपाली जातिलाई भारी परेको विषय नेपाल–भारत बीचको छद्म युद्ध हो । उत्कर्षकालको भाजपाबाट आडभरोस र साथ पाएर मात्र देउबा र दाहालले दुई तिहाई बहुमतको ओली सरकार विस्थापन गर्ने हिम्मत गरेका थिए । नेकपा विभाजन र एमाले विभाजनको साजिस प्रचण्डको चर्चित भारत भ्रमणको बेला रचिएको थियो । मोदी लहर आजको दक्षिण एशियाको जीवित सत्य हो ।

मोदी लहर सामु लामो इतिहास बोकेको, करिब तीन दशकसम्म भाजपालाई निरन्तर सत्ता बाहिर राख्न सकेको कीर्तिमानधारी पार्टी कांग्रेस आईको समेत जादु चल्न छोडेको छ । हात्तीको शिकार गर्ने औकात नहुँदा रहलपहलमा गुजारा चलाउने भारतीय प्रान्तीय पार्टीहरुको बिकासको गति पनि मोदी लहरका कारण रोकिएको छ । नेपालको सत्ता गठबन्धनका सबै राष्ट्रिय आवाराहरु भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कठपुतलीहरु हुन् । भारतीय हस्तक्षेपको स्वागतमा ‘हर हर मोदी’ गर्नु सत्ता गठवन्धनका नेताहरुको दैनिकी हो ।

एमालेको लाश कुल्चेर मात्र मातभूमि नेपालका बैरीहरुले नेपालमाथि हात लगाउन सक्छन् । एमाले रहेसम्म नेपालमाथि गिद्देदृष्टि लगाउनेको हातमा असफलता मात्र पर्नेछ । नेपालमाथिको पछिल्लो नाकाबन्दी र एमाले विरुद्धको घेराबन्दीको शर्मनाक असफलताले यही सिद्ध गरेको छ । लोकतान्त्रिक आन्दोलनको मियो, राष्ट्रियताको पहरेदार, सामाजिक न्याय र समानताको हिमायती, अधिनायकवाद विरोधी आन्दोलनको नायक, विकास र समृद्धिको महायात्राको पथप्रदशक, देशभक्तिको मेरुदण्ड भएकाले एमाले जनताको विश्वासको बैंक बनेको छ, आशा भरोसाको केन्द्र बनेको छ र नेपालका प्रकट र छद्म शत्रुहरुको आँखाको कसिंगर बनेको छ । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुनुको सही दृष्टिबन्दुमा उभिएर एमालेले कसैसँगको पनि व्यवहार तय गर्छ । एमाले सत्ताको पिरामिड व्रmमशः शील, सदाचार, धर्म, कर्तब्य, अर्थ, वल र सत्तासम्म चुलिएको छ । अरुको बिगार नगर्ने र आफुमाथिको अन्याय नसहने पंचशीलको साधनाबाट एमाले बहकिन सक्तैन ।

राजतन्त्रको अन्त्य र कांग्रेसको क्षय पछि एमाले नै आधुनिक नेपालको मियो हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको मृत्युसँगै कांग्रेस कांग्रेस रहेन । आजको कांग्रेस लोकतान्त्रिक आन्दोलनको मियो पनि रहेन । यो त मध्यम वर्गको खानपिन पार्टी हो । प्रतिभा राणाकी छोरी र सूर्यबहादुर थापाको छोराको कांग्रेसमा चलेको रजगजमा पढ्न सकिन्छ आजको कांग्रेसको मण्डले स्वरुप । त्यही कांग्रेसको सुसारे बनेका छन् पुष्पकमल दाहाल । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुले देउबाको भान्छामा बिरालोको जुनी ग्रहण गरेर डेरा जमाएका छन् । हुुँदाहुँदा बुढेसकालमा लोटरीमा परेकी कान्छी श्रीमतीलाई सन्तुष्ट राख्न मोहनविक्रम सिंह समेत देउबाको दैलोमा मन्त्रीको भैलो माग्दैछन्

राष्ट्ररक्षाको शर्तमा कसैलाई पनि काँध थाप्ने र कृतघ्न हुनेका करङ धुल्याउने कला नै एमालेरत्नको विशिष्ट गुण हो । एमालेले यो दीक्षा जननेता मदन भण्डारी र राजनेता केपी ओलीबाट पायो । २०४६ सालको जनआन्दोलनमा एमालेले कांग्रेसलाई काँध थाप्यो । जनआन्दोलन सफल भयो । जीवनभर महेन्द्र र वीरेन्द्र पितापुत्रको करिब करिब कृपापात्रको रुपमा रहेका कांग्रेस नेताहरुको हैसियत र शान सौकत एकाएक बढ्यो । कांग्रेसका तत्कालीन नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको चुलिएको छविले राजा वीरेन्द्रको करिष्मालाई छायामा पार्‍यो ।

कांग्रेस नेताहरुले मदन भण्डारीको त्याग र काँधमा अडिएको रजगजको आधार भुले र आफ्नो असली औकात बिर्सिए । उत्कर्षकालका कांग्रेस नेताहरुले एमालेविरुद्ध पंच र मण्डलेहरुलाई कांग्रेसमा हुले । कांग्रेसका दिग्गज नेताहरु एमालेबिरुद्ध निन्दावर्षामा उत्रिए । गिरिजाप्रसाद कोइरालाको गाली थियो– ‘माले, मसाले र मण्डले एउटै हुन् ।’ जनआन्दोलनका प्रमुख शक्ति एमाले र कांग्रेस बीचको कटुतापूर्ण प्रतिस्पर्धा देशले थेग्न सक्तैन कि, लोकतन्त्र कमजोर हुन्छ कि भन्ने चिन्ताले मदन भण्डारीले कम्तीमा १०।१० निर्वाचन क्षेत्रमा तालमेल गरौं भनी प्रस्ताव गर्दा कांग्रेसभित्र सबैभन्दा सन्त र सरल नेता कहलिएका कृष्णप्रसाद भट्टराईको दंभी अभिव्यक्ति यस्तो आयो– ‘यो त भगवानको ठूलो कृपा हो कि नेपालमा कम्युनिष्टहरु पनि सरकारमा छन् । एमालेले आगामी चुनाबमा जित्ने भनेको ३०।३५ सिट हो । १० सिट बढाउनको लागि तालमेलको प्रस्ताव आएको छ ।’

जुन नदीले किनारमा गैरी खेत बनाउँछ, त्यही नदीले चौडा फाँटहरुलाई बगरमा रुपान्तरण गर्छ । असल सहयात्री पनि एक महानदी हो, उसले पनि आफूबाट लाभ उठाएकालाई चिल्लाराम बनाउन सक्छ । पछि यस्तो घडी आयो कि राजकीय सुविधा भोग गरी हवाइजहाजमा सवार भएर कांग्रेसको प्रचारप्रसारमा देशदौडाहामा जाने वयोबृद्ध प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साइकल चढेर हिड्ने ३९ वर्षीय मदन भण्डारीबाट चुनाव हार्नु पर्यो । कांग्रेसले एमालेको उपकारको बदला कृतघ्नताले दिन्छ, साथको जवाफ तिरस्कार, लात र घातले दिन्छ । उसलाई लाग्छ कि जनताको अदातललाई केही पनि थाह छैन, जनताले केही पनि जानेका छैनन् र थाह पाउँदैनन् । वास्तवमा जनतामा नै सबै राजनीतिक शक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । जनतामा अमोघ शक्ति विद्यमान रहन्छ । जनताले सबथोक देख्छन्, न्याय गर्छन् र खलपात्रलाई दण्डित समेत गर्छन् । अलिकता अनुकूलता मिल्ना साथ कांग्रेस र माओवादीले एमाले विरुद्ध खाडल खन्नमै आफ्नो महत्वपूर्ण समय बरबाद पार्छन् । गृहनिर्माणको समय विषयान्तर गरेर एमालेको ध्वंशमा भस्मासुरहरु तल्लिन हुन्छन् ।

राज्यसत्ताको उक्साहटमा एमालेका बिरुद्ध प्रयोग गरिएका वाईसीएल शक्ति र शिविरभित्रका लडाकुले गर्दा प्रचण्डको पोल्टामा उनको औकात बाहिरको सफलता थमाइदियो । संविधान सभामा प्रत्येक्षतर्फ ३३ सिट मात्र जितेको एमाले हाराहरीमै ३७ सिटमा कांग्रेस खुम्चियो । २०७० सालमा आएर नेपाली कांग्रेस एमालेसँगको घोषित अघोषित तालमेल र सहकार्य जगमा टेकेर संविधानसभामा ठूलो दल बन्यो । फेरि कृतघ्न हुनमै मजा मान्न थाल्यो । २२ महिना एमालेको सहयोगमा प्रधानमन्त्री भएका सुशील कोइरालाबाट पालोको पैँचो तिर्नुपर्ने बेला बेइमानी भयो । स्थिति यस्तो आयो कि एमाले अध्यक्ष केपी ओलीबाट कांग्रेसको प्रधानमन्त्री हार्ने इतिहास पुनः दोहोरियो ।

मदन भण्डारीबाट कृष्णप्रसादको पराजय र केपी ओलीबाट सुशील कोइरालाले भोगेको पराजय कांग्रेसको बेइमान राजनीति माथिको जनदण्ड थियो र युगदेखि युगसम्म एमालेले गरेको इमान्दारिताको राजनीतिलाई जनताले दिएको पुरस्कार थियो । एमालेको काँध चढ्ने तर पैँचो नतिर्ने कांग्रेसको नियमित आकस्मिकतामा कांग्रेसमात्र कारण होइन । जब एमाले र कांग्रेस मिलेर देश बनाउने र राजनीति स्थिरताको जरो उखेल्ने अठोट गर्छन् तब सीमापारिबाट कांग्रेसलाई एमालेसँग विग्रहको बाटो रोज्ने आदेश आइहाल्छ प्रभुजीको ।

आश, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट एमाले कहिलै प्रभावित भएन । यस्तो गुण नहुँदो हो त सुम्सुम्याएर सिध्याउने कलामा बनका ब्वाँसालाई समेत चित खुवाउने प्रचण्डलाई एकदलीय अधिनायकवाद लाद्न र सत्ता कब्जा गर्नबाट रोक्न सकिने थिएन । हिजो गिरिजालाई ठग्ने प्रचण्डलाई आज देउबालाई ढोग्ने बनाउने एमाले हो । सर्प जस्ता प्रचण्डलाई आज काँचुली जस्ता जसले पनि कुल्चन सक्ने हालतमा पुगाउने एमाले हो । सिक्किमको संविधान सभा, लेण्डुप दोर्जे र सिक्किमको प्रेसलाई ओदान बनाएर भारतले सिक्किमको चिनखुर पकाएर खाएको थियो ।

नेपालमा पनि संविधानसभा, प्रचण्ड र नेपाली प्रेसलाई सिक्किमकै जस्तो मोडेलमा उतारिएको छ । दुबै संविधान सभा असफल पार्ने भारतीय रुचि, लिम्पियाधुरामा प्रचण्डका गलेका नौ नाडी र नेपालका केही प्रेसले एमाले विरुद्ध गरेको शत्रुता संयोग मात्र होइन । सिस्ने हिमालका बाज होलान् ठानिएका प्रचण्ड दिल्लीको नोयडाबाट छोडिएको काग भएको वास्तविकताको पर्दा खुलिसकेको छ । रामबहादुर थापा बादल जस्ता जनयुद्धका सक्कली कमाण्डर एमालेमा रहेपछि प्रचण्डको महत्वाकांक्षा मसानघाटमा पुगेको छ । एमालेले गरेका बारम्बारका उपकार, उद्धार, दया र मायालाई नगन्नुको मूल्य आजका प्रचण्डलाई भारी परेको छ ।

कांग्रेस र माओवादीले एमालेलाई दिएका सास्ती अब एकादेशका कथा बन्दैछन् । देश अब एमालेको केन्द्रीय भूमिकाको युगमा प्रवेश भैसक्यो । राजतन्त्रको अन्त्य र कांग्रेसको क्षय पछि एमाले नै आधुनिक नेपालको मियो हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको मृत्युसँगै कांग्रेस कांग्रेस रहेन । आजको कांग्रेस लोकतान्त्रिक आन्दोलनको मियो पनि रहेन । यो त मध्यम वर्गको खानपिन पार्टी हो । प्रतिभा राणाकी छोरी र सूर्यबहादुर थापाको छोराको कांग्रेसमा चलेको रजगजमा पढ्न सकिन्छ आजको कांग्रेसको मण्डले स्वरुप । त्यही कांग्रेसको सुसारे बनेका छन् पुष्पकमल दाहाल । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुले देउबाको भान्छामा बिरालोको जुनी ग्रहण गरेर डेरा जमाएका छन् । हुुँदाहुँदा बुढेसकालमा लोटरीमा परेकी कान्छी श्रीमतीलाई सन्तुष्ट राख्न मोहनविक्रम सिंह समेत देउबाको दैलोमा मन्त्रीको भैलो माग्दैछन् । राजनीतिक आग्रहको पिनासमा परेको मोहन विव्रmम सिंहको नाक एमालेको शरीरमा प्रतिगमनको गन्ध पाउँछ र डा. आरजु राणा र सुनिलबहादुर थापाको जिउबाट अग्रगमनको मगमग बासना सुँघ्न रमाउँछ ।

प्रचण्डले माल पाएर पनि चाल पाउन सकेनन् । प्रहरीको छडी देख्दा डराउने युवाहरुलाई बन्दुक चलाउन सिकाउने देखि छापामार युद्धका कमाण्डरहरु उत्पादन गर्ने बादलबिरुद्ध बाबुराम र जनार्द्धन खडा गरेर माओवादीभित्र ब्राह्मणवादी सत्ता मजबुत पार्नु प्रचण्डको पहिलो कृतघ्न खेल थियो । २०७० सालको संविधानसभा चुनावदेखि डुब्दै गरेको प्रचण्ड जहाजको उद्धारक ओली भएको सत्यलाई प्रचण्डले कहिलै स्विकार गरेनन् । उद्धार गरिएर टेको लिना साथ जाल बुन्न सक्रिय भैहाल्ने प्रचण्डको कुलत हो । बास माग्न आएको डाँकुले घरमुलीको कन्तबिजोगमा उसकी श्रीमती प्रयोग गरेझै ओलीबिरुद्ध माधव, झलनाथ र वामदेव उतार्नमा देखाएको निपूर्णतामा पढ्न सकिन्छ, जहाँ गयो त्यही भ्वाङ पार्ने प्रचण्डलिला 

गिरिजाप्रसाद कोइराला छँदासम्म भारतीय राजदूतहरु राजदूतको मर्यादामा रहने गर्थे । गठबन्धनका नेताहरुलाई लेण्डुप दोर्जे बनाउन सकेपछि आजका भारतीय राजदूतहरुको रबैया र उफ्रिपाफ्री अंग्रेजकालीन भारतका भायसरायको जस्तो छ । जसले बिगतमा इज्जत गुमाएको छ, उसले वर्तमानमा अरुको सम्मान गर्न जान्दैन । चार–पाँच शताब्दिसम्म बेलायत र नेपालबाट पालैपालो भकुराई पाएको भारत अचेल अर्घेलो र अरर्रो राष्ट्र बन्नुमा उसको दूषित र अपमानित विगतले काम पाएको छ । नेपालको वर्तमान सत्ता गठबन्धनको मूल मक्सद भारतीय हैकमको जाँतोमा नेपाललाई पिस्नु हो । गद्दार र घुनमा समानखाले विचेत हुन्छ । जसरी मकै भित्रको घुनलाई मकैसँगै आफू कुन घट्टमा पिसिने हो थाहा हुँदैन, त्यसरी नै गद्दारहरुलाई पनि देश डुबाउँदा आफ्नो रजगजमा पूर्णविराम लाग्छ भन्ने सत्यवोध हुँदैन ।

नेपालरक्षक भएको कारणले एमाले घेराबन्दीमा छ । एमालेविरुद्धको भूराजनीति दाउपेच निर्मम प्रकृतिको छ । क्रमशः नेकपा र एमाले रुपी ओली सवार रथ किन टुव्रmा टुव्रmा पारियो ? दुईतिहाई बहुमतको ओली सरकारको विस्थापन एक्काइसौं सदीको द्रौपदी चीरहरण हो । जनादेशलाई छोप्ने परमादेशी शासन सीताजीको अपहरण हो । यो सब भारतको नेपाल नीतिको कमाल हो । साधु र बादशाह हुने दोहोरो कष्ट नरेन्द्र मोदीले उठाउनुमा खास अर्थ लुकेको छ । एक युगान्तकारी चुनावको मुखमा एमाले जनताको शरणमा छ । भारत बलियो होला आफ्नो ठाउँमा छ । यो भूमिमा ‘हर हर मोदी’ होइन, नेपाली जनताको राज चल्छ । जब जनादेशले लेण्डुप दोर्जेहरुलाई फेरि दिल्लीको नोयडामा बास गराउने छ, नेपालको राजनीति स्वाभिमानको मेरुदण्डमा उभिने छ । पराईबाट शासित हुने बानी परेको भारतलाई जब जनताको चेतले मुहतोड जवाफ दिने छ तब भारतको नेपाल नीतिका रणनीतिकारहरु ‘बोलबोल माछा मुखभरी पानी’ हुनेछन् । दाससँग होइन मालिकसँग पंगा लिने एमालेलाई जनताले दिने साथ, धाप र आशिर्वादमै समग्रमा नेपालको जित छ र हित छ ।