जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १६:१२

कर्णाली प्रदेशमा एक तिहाइ पुरानै उम्मेदवार


सुर्खेत, २६ असोज । अघिल्लो प्रदेशसभाका ४० सदस्यमध्ये एक तिहाइले यसपटक पनि उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्येबाट प्रतिनिधिसभा र प्रदेशसभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका हुन् । कर्णाली प्रदेशसभाको सदस्य बन्ने दौडमा नौ जना पुराना अनुहार दोहोरिएका छन् भने चार जना निवर्तमान प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेत–१ ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्ट उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित हुनुभएको थियो । नेकपा विभाजनपछि एमाले रोज्नेभ)को उहाँलाई अहिले फेरि एमालेले पनि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो । सुर्खेत–२ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बन्नुभएको छ । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएको उहाँ एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हो ।

कँडेल ०७४ सालको निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झर्नुभएको थियो । अघिल्लो कार्यकालमा सो अवसर नपाउनुभएको कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । माओवादी केन्द्रले सुर्खेत–२ ‘ख’ मा निवर्तमान प्रदेशसभा सदस्य विन्दमान विष्टलाई नै टिकट दिएको छ । उहाँले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नुभएको हो ।

विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत हो । दैलेख–१ ‘क’बाट ०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बन्नुभएको धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उहाँलाई अहिले एमालेले उम्मेदवारका लागि अघि बढाएको छ । रेग्मीले पनि नेकपा बिघटनपछि एमाले रोज्नुभएको थियो ।

सल्यान प्रदेशसभा ‘ख’ बाट निवर्तमान प्रदेशसभा सदस्य गुलाबजंग शाह यसपटक पनि उम्मेदवार बन्नुभएको छ । हालका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेशसभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शाही अघिल्लो पटक कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एक्लो सदस्य हो । हुम्ला प्रदेशसभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराउनुभएको उहाँलाई अहिले सत्ता गठबन्धनको साथ छ ।

जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको छ । यसपटक सत्तागठबन्धनले उहाँलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ ।

पूर्वमुख्यमन्त्री समेत रहनुभएको माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधिसभा रोज्नुभएको छ । उहाँ २०७४ सालमा भने प्रदेशमा झर्नुभएको थियो । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि उहाँले एक मात्र क्षेत्र रहेको कालीकोटबाट मनोनयन दर्ता गराउनुभएको हो । अघिल्लो निर्वाचनमा हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका दल रावल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

उहाँ कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हो । निवर्तमान प्रदेशसभा सदस्य अमरबहादुर थापा यसपटक प्रतिनिधिसभा सदस्यको दौडमा हुनुहुन्छ । उहाँले दैलेख–१ बाट सत्ता गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनुभएको छ । ०७४ सालमा एमालेबाट प्रदेशमा निर्वाचित थापा हाल नेकपा एसमा हुनुहुन्छ । पहिलो कार्यकालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित प्रकाश ज्वाला पनि यसपटक प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नुभएको छ ।

सल्यानबाट निर्वाचित उहाँले एमाले विभाजनपछि नेकपा एस रोज्नुभएको थियो । उहाँ कर्णाली सरकारका पूर्वमन्त्री समेत हो । ज्वाला यसअघि पनि प्रतिनिधिसभाको सांसद भइसक्नुभएको छ । अहिले उहाँलाई सत्ता गठबन्धनको साथ छ । नेकपा एमालेले सुरुमा एकल सिफारिस गरेर उम्मेदवार बनाएको डोल्पाकी बदमी क्वारी बोहोरालाई अन्तिममा टिकट नदिएपछि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

कर्णाली प्रदेशसभाका ४० मध्ये २७ जना निर्वतमान सदस्यले यसपालि टिकट नै पाउनुभएन । पहिलो कार्यकालमा कर्णालीको सभामुख बनेका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाउनुभएको हो । घर्ती माओवादी केन्द्रबाट समानुपातितर्फ सिफारिस भए पनि बन्द सूचीमा पर्नुभएन ।

अमृता शाहीलाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरे पनि उहाँले अन्तिममा टिकट पाउनुभएन । प्रदेशसभा सदस्य करवीर शाही, कृष्ण शाह, कौशिलावती खत्री, खड्कबहादुर खत्री, गणेशप्रसाद सिंह, गोपाल शर्मा, चन्द्रबहादुर शाही, झोवा विक, दानसिंह परियार र दिनबन्धु श्रेष्ठले पनि टिकट पाउनुभएन । एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भए पनि अन्तिममा पार्टीले उहाँलाई टिकट दिएन ।

खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, निवर्तमान प्रदेशसभा सदस्य देवी ओली, नरेश भण्डारी, पद्मा खड्का, मिनासिंह रखाल, यज्ञबहादुर बुढाक्षेत्री, राजु नेपाली, रातो कामी, विमला केसी, सीता नेपाली, सुशील थापा, हिमबहादुर शाही, शोसिला शाही र नन्दसिंह बुढाले पनि यसपालि उम्मेदवार बन्ने अवसर नपाउनुभएको हो ।

दलहरूले समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । कर्णालीमा अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका पाँच जना यसपटक पनि सोही पदको दौडमा छन् । पार्टीले उहाँहरूलाई दोहोर्याएर प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो ।

एमालेले सुर्खेतमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटामा निवर्तमान प्रतिनिधिसभा सदस्यलाई नै उम्मेदवारका लागि मनोनयन दर्ता गराएको छ । सुर्खेत–१ मा ध्रुवकुमार शाहीले अहिले पनि टिकट पाउनुभएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजय भोगेका पूर्णबहादुर खड्कालाई सुर्खेत–१ र हृदयराम थानीलाई सुर्खेत–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

एमालेले दैलेख–१ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपालि पनि निर्वतमान प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मालाई उम्मेदवार बन्ने मौका दिएको छ । डोल्पाबाट धनबहादुर बुढाले फेरि पनि प्रतिनिधिसभाको टिकट पाउनुभएको छ । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई यसपालि पनि प्रतिनिधिसभाको टिकट दिइएको छ ।

०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचत हुनुभएको बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्यमा पनि विजयी हुनुभएको थियो । यसपटक पनि उहाँ सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको हो । रुकुम–पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई नै प्रतिनिधिसभाको टिकट दिइएको छ । उहाँ ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनयता लगातार उम्मेदवार बनेर संसद प्रतिनिधित्व गर्दै आउनुभएको छ ।